खोटाङ, फागुन २२– हरेक महिलालाई अध्ययनमा प्रोत्साहित गर्ने लक्ष्यका साथ स्थापना गरिएको महिला एकता अध्ययन केन्द्र खोटाङको अध्यक्षमा पूनः दुर्गाजयन्ती राई चयन हुनुभएको छ । ११ वर्षअघि स्थापना भएको अध्ययन केन्द्रको सोमबार साँझ सम्पन्न दोश्रो अधिबेसन तथा पाँचौं साधारणसभाले दुर्गाजयन्तीलाई पुनः अध्यक्षमा चयन गरेको हो ।
दिक्तेलबजारको किरातचोक नजिकै रहेको महिला एकता अध्ययन केन्द्रकै कार्यालयमा सम्पन्न अधिबेसनले उपाध्यक्षमा बिन्दा थापा, सचिवमा दिलकुमारी राई, सह–सचिवमा मञ्जु राई र कोषाध्यक्षमा डिल्लीकुमारी राईलाई चयन गरेको छ । पदाधिकारीमा कोषाध्यक्ष बाहेक अन्य पदमा पुरानै व्यक्ति दोहोरिएका छन् ।
अध्ययन गर्ने बानीको बिकासका लागि सबै दलका महिला नेतृहरु मिलेर २०६३ सालमा अध्ययन केन्द्र स्थापना गरेका हुन् । अधिबेसन जिल्ला समन्वय समितिका उपप्रमुख गोमादेबी खत्रीको प्रमुख आतिथ्यता एबं दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाकी उपमेयर बिणादेबी राईको बिशेष आतिथ्यतामा सम्पन्न भएको हो ।