खोटाङ फागुन–२४, सुत्केरी तथा नवजात शिशुको जीवन रक्षाका लागि खोटाङस्थित हलेसी तुवाचुङ नगरपाालिकाको हरेक वडामा बर्थिङ सेन्टर स्थापना गरिएको छ । ११ वडा रहेको नगरपालिकामा शुरु गरिएको ‘एक वडा एक बर्थिङ सेन्टर’ स्थापना अभियान अन्तर्गत हालसम्म ९ वटा वडामा स्थापना भईसकेको छ । 
सुत्केरी गराउने तालिम प्राप्त स्वास्थ्यकर्मी, आवश्यक उपकरणको व्यवस्था, औषधि, कोठा लगायतको व्यवस्थापछि उक्त नगरपालिका–४ मा पर्ने बडहरे स्वास्थ्यचौकीमा हालै नवौं सेन्टर सुरु गरिएको वडाध्यक्ष किशोरकुमार बस्नेतले बताउनुभयो । 
गर्भवती महिलाई सुत्केरी गराउनका लागि जिल्ला अस्पताल वा जिल्ला बाहिरका अस्पतालमा जानुपर्ने बाध्यता अन्त्यका लागि स्थापना गरिएको २४ घण्टे बर्थिङ सेन्टर स्वास्थ्यचौकी हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले उद्घाटन गर्नुभयो । नेपाल सरकारले ब्यवस्था गरेबमोजिम गर्भवती जाँच गर्ने, बर्थिङ सेन्टरमा आएर गर्भवती भएका महिलालाई यातायात खर्च वापत १ हजार र तालिका अनुसार चार पटक गर्भजाँच गराएकामा थप ४ सय प्रोत्साहन भत्ता दिने सुबिधा सहितको सेवा थालिएको हो । 
आमा र बच्चालाई अकालमा मृत्यु हुनबाट जोगाउनका लागि हलेसी तुवाचुङ नगरपालिकाको बाहुनीडाँडा र सल्लेमा मात्र बर्थिङ सेन्टर उद्घाटन गर्न बाँकी रहेको नगरपालिकाकी उपमेयर बिमला राईले बताउनुभयो । 
गाउँमै बर्थिङ सेन्टर स्थापना भएपछि गर्भवती महिला लाभान्वित भएका छन् ।