खोटाङ चैत्र–१, खोटाङ सदरमुकाम दिक्तेलबजारमा हाल ब्रोईलर कुखुराको मासुको अभाव रहेको छ । सदरमुकामका करिब २२ फ्रेसहाउसबाट दैनिक रुपमा सरदर दुई सय केजी ब्रोईलर कुखुराको मासु खपत हुने बजारमा हाल मासु अभाव रहेको हो ।
ब्रोईलर कुखुरा पालन ब्यवसायमा जिल्लामा आईपर्ने प्राबिधिक समस्याका साथै केही ब्यवसायीले असन्तुलित रुपमा मूल्य घटाएर बिक्रि गरेको कारण हाल कुखुराको मासु अभाव भएको पोल्ट्री ब्यवसायीले जनाएका छन् । हिँउदको समय अर्थात कार्तिकदेखि माघ महिना अति चिसो मौसम हुने हुनाले चल्ला हुर्कानु नसक्नु एउटा समस्या रह्यो भने चल्ला र दानाको भाउ बढ्नु र केही ब्यवसायीले एक्कासी मासुको मूल्य घटाउनु अर्को समस्या भएको जनाईएको छ ।
चल्लाको लागि आवश्यक २८ देखि ३० डिग्री तापक्रममा हिउँदको समयमा जिल्लामा नपुग्नु, प्रतिगोटा ७० देखि ८० रुपैंयाँमा पाईने चल्लाको भाउ फ्याक्ट्रीमै बढेर १ सय पुग्नु, कुखुराको दानामा प्रतिकेजी ३ रुपैंयाँको दरले मूल्य बृद्घि हुनु नै हाल ब्रोईलर अभावको कारण भएको पोल्ट्री ब्यवसायी जिल्ला तदर्थ समितिले स्पष्ट पारेका छन् । त्यसैबीचमा प्रतिकेजी ४ सय ४० मा बिक्रि भईरहेको मासुलाई बाहिरको ब्यवसायी आएर ३ सय रुपैंयाँमा झारेका कारण चल्ला लगाउनुमा ब्यवसायी हिच्किचाएको तदर्थ समितिका सचिब राम बजगाईंले बताउनुभयो ।
सदरमुकाममै दीगो रुपले ब्यवसाय सञ्चालन गर्नेले भन्दा पनि हलेसी लगायतका स्थानबाट कुखुराको मासु ओसारेर बेच्नेले मूल्य घटाएकोले यहाँका ब्यवसायी चल्ला लगाउनु डराएका कारण हाल मासु अभाब भएको बजगाईंको भनाई छ । सो समयमा ४ सय ४० मा सदरमुकाममा मासु बिक्रि भईरहेकोमा केही सिमित ब्यवसायीले प्रतिकेजी क्रमशः ३ सय ८० , ३ सय ५० र ३ सयसम्म झारेर ब्रोईलर कुखुराको मासु बिक्रि गरेका थिए ।
दिक्तेलमा उत्पादन भएको मासुलाई बाहिरबाट ल्याएको मासुको मूल्यमा प्रतिस्पर्धा गराएर दीगो रुपमा ब्यवसाय सञ्चालन गर्न नसकिने ब्यवसायीको ठहर छ ।
केही समयअघि कुनै पनि फ्रेस हाउसमा नपाईने ब्रोईलरको मासु हाल अपुग रुपमा भए पनि केही ब्यवसायीमार्फत बिक्रि भईरहेको बताईएको छ । छिमेकी जिल्ला उदयपुरको कटारीमा प्रतिकेजी ३ सय ३० रुपैंयाँ मूल्य निर्धारण गरिएको ब्रोईलरको मासु दिक्तेलबजारमा प्रतिकेजी ४ सय २० रुपैंयाँले बिक्रि गर्न शुरु गरिएको छ ।
उदयपुर र ओखलढुंगा जोड्ने सुनकोसी र दुधकोसीमा पक्की पुल सञ्चालनमा आए पनि चल्ला र दानाको मूल्य बृद्घि भएकोले मासुको मूल्य घटाउन नसकिएको ब्यवसायी बताउँछन् ।
प्रमुख जिल्ला अधिकारी एकदेब अधिकारीले आधार तथा कारणहरु स्पष्ट देखाएर मात्र मूल्य बृद्घि गर्न पाईने जनाउनुभएको छ । यदि धेरै कमाउने लोभले अनावश्यक मूल्य बृद्घि गरेको पाईएमा कालोबजारी गरेको ठहर गरी कानुनी कार्वाहीको दायरामा आउनुपर्ने प्रजिअ अधिकारीको चेतावनी छ ।