खोटाङ चैत्र–१, खोटाङ सदरमुकाम दिक्तेलदेखि धरान र बिराटनगर आवतजावतका लागि पहिलो पटक सिधा यातायात सेवा सुरु गरिएको छ । शुक्रबारदेखि लागु हुने गरी खोटाङ यातायात ब्यवसायी संघले दिक्तेलबाट विराटनगर विहान ४ः३० बजे र धरान ५ः१५ बजे बस छुट्ने गरी नियमित यातायात सेवा सुरु गराएको हो ।
बिराटनगरको पूर्व नेपाल यातायात ब्यवसायी संघको कार्यालयमा भएको ब्यवसायीहरुको प्रतिनिधिमूलक भेटघाट र छलफलबाट धरानबाट दिक्तेलका लागि बिहान ४ः३० र बिराटनगरबाट ४ः५० मा छुट्ने समय निर्धारण गरिएको छ । दिक्तेल–बिराटनगरका लागि प्रतिब्यक्ति ११ सय ७५ र दिक्तेल धरानका लागि ११ सय पचास रुपैंयाँ भाडादर तोकिएको खोटाङ यातायात ब्ययवसायी संघको महासचिब राम हिङमाङले जानकारी दिनुभयो ।
दुधकोसीमा पक्की पुल निर्माण भएपछि दिक्तेल–हलेसी–घुर्मी कटारी हुँदै धरान र बिराटनगर सिधा यातायात सुचारु गर्न सकिएको हो । सिधा यातायातका कारण यात्रुलाई बस परिवर्तन गरिरहनुपर्ने झन्झट नरहने बताईएको छ ।