खोटाङ चैत्र–६, खोटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीमा सामाजिक सुरक्षा भत्ताका साथै निःशुल्क स्वास्थ्य परीक्षण शुरु गरिएको छ । वडाका वृद्धवृद्धा, फरक क्षमता भएका व्यक्ति, एकल महिला तथा दलित बालबालिकालाई सामाजिक सुरक्षा भत्ता बितराणका साथै स्वास्थ्य परीक्षण शुरु गरिएको हो । 
मंगलबार शुरु भएको कार्यक्रममा १ सय ७१ जनालाई भत्ता वितरण गर्नुका साथै १ सय ११ जनाको स्वास्थ्य परीक्षण गरिएको वडा सचिव चित्रकुमार सुवेदीले जानकारी दिनुभयो । मौसम परिवर्तनसँगै रुघाखोकीका बिरामी बढेकाले भत्ता लिन आउनेको स्वास्थ्य परीक्षण गर्नुका साथै औषधि समेत वितरण गरिएको जनाइएको छ । 
खार्मीमा सामाजिक सुरक्षा भत्ता पाउने १ सय ७२ जना जेष्ठ नागरिक, ९३ जना एकल महिला, ४७ जना दलित बालबालिका, २१ जना दलित जेष्ठ नागरिक र दश फरक क्षमता भएका व्यक्ति रहेको बताईएको छ ।  भत्ता वितरण तथा स्वास्थ्य परीक्षण कार्यक्रम बुधबार बेलुकासम्म रहने वडा कार्यालयले जनाएको छ ।