खोटाङ  चैत–१०, खोटाङमा १ सय १४ जना आँखा रोगीको निःशुल्क रुपमा जटिल  शल्यक्रिया गरिएको छ । पुर्वाञ्चल क्षेत्रीय आँखा उपचार कार्यक्रम अन्तरगत सगरमाथा चौधरी आँखा अस्पताल लाहानको प्राविधिक सहयोगमा नेपाल नेत्र ज्योती संघ खोटाङले जिल्ला अस्पताल दिक्तेल र ऐसेलुखर्कमा आयोजना गरेको निशुल्क आँखा शल्यचिकित्सा शिबिरमा उक्त सेवा प्रदान गरिएको हो । 
बिहिबारदेखि दिक्तेलमा सुरु गरिएको तीन दिने निशुल्क आँचा उपचार शिबिरमा आँखामा जालो पर्ने, मोतिया बिन्दु लगायतका समस्या भएका ७६ जनाको तथा चैत ४, ५ र ६ गते ऐसेलुखर्कमा गरिएको निशुल्क आँखा उपचार शिबिरमा ३८ सर्वसाधारणको जटिल शल्यक्रिया गरिएको हो । 
जिल्ला अस्पतालमा ७ सय ५१ जना र ऐसेलुखर्कमा ४ सय ८१ को आँखाको जाँच गरिएको नेपाल नेत्र ज्योती संघ खोटाङका सचिव ईन्द्र कसजूले बताउनुभयो । आँखा उपचार शिबिरमा डाक्टर टि छिरिङवाङचुङ भुटिया लगायतका १० स्वास्थ्यकर्मीको टोलीले उपचार सेवा प्रदान गर्नुभएको सचिव कसजूको भनाई छ ।