खोटाङ चैत्र–१२,  पहाडी जिल्ला खोटाङ र तराईका जिल्ला जोड्ने सबैभन्दा छोटो खानीडाँडा–रेग्मीटार सडक निर्माणको काम शुस्त गतिमा भईरहेको छ । डेढ वर्षअघि निर्माण शुरु गरिएको उक्त सडकको रेग्मीटार र खानीडाँडा दुवैतर्फबाट एकैसाथ काम थालिए पनि हाल दुवै क्षेत्रमा काम हुन सकेको छैन् ।  
साँडे २२ किलोमिटर लामो उक्त सडकको रेग्मीटारबाट करिब ११ सय मिटर र खानीडाँडाबाट साँडे १२ किलोमिटर मात्र ट्रयाक खोलिएको छ । रेग्मीटारबाट करिब साँडे दुई किलोमिटर ट्रयाक खोल्ने जिम्मा रोका निर्माण सेवाले लिएको हो । 
यस वर्ष उक्त निर्माण सेवाले एक करोड दश लाखमा निर्माण सम्पन्न गर्ने सम्झौता गरे पनि अहिलेसम्म कुनै काम भएको छैन । क्रमागत योजना अन्तरगत गत वर्ष उक्त कम्पनीले ७५ लाखको काम गरेको जिल्ला प्राविधिक कार्यालय खोटाङका निमित्त प्रमुख दिपेन्द्र यादवले बताउनुभयो ।
खोटाङको दिक्तेलबाट तराईका विभिन्न जिल्ला जोड्ने सबैभन्दा छोटो मार्गमा पर्ने खानीडाँडा–रेग्मीटार सडक निर्माण कार्यमा भइरहेको ढिलाइ तथा समस्याका बारेमा जिल्ला समन्वय समितिका पदाधिकारी र प्राविधिक टोलीले शुक्रबार स्थालगत अध्ययन गरेको थियो । समन्वय समितिका सदस्य एवम् भौतिक योजना तथा पूर्वाधार विकास समिति संयोजक उदयबहादुर कार्की नेतृत्वको अनुगमन टोलीले उक्त सडक जिल्लाको गौरवको योजना भएपनि अपेक्षित प्रगति र गुणस्तरीय काम नभएको ठहर गरेको छ ।
निर्माणको जिम्मा लिएको कम्पनीको प्रतिनिधिका अनुसार गत वर्ष खोलिएको ट्रयाक छोटो समयमा धेरै काम गर्नुपर्ने भएकाले मापदण्ड अनुसार नभएको स्विकार्नुभएको छ ।  अख्तियारी ढिलो आएकाले काममा ढिलाई भए पनि यो बर्ष भने सबै काम सम्पन्न गर्ने निर्माण सम्बद्घ पक्षले जनाएको छ । 
तीन वर्षभित्र ट्रयाक खोली सक्ने लक्ष्यका साथ काम थालिएको उक्त सडक खण्डमा ठूल्ठूला चट्टान रहेकाले सहज रुपमा निर्माण कार्य सम्पन्न हुने सम्भावना रहेको छैन ।