खोटाङ चैत–१६,  जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयको बीचमै पर्ने खोटाङ सदरमुकाम दिक्तेलबजारमा श्रृंखलावद्ध चोरीको घटना बढेको छ ।  दिक्तेलबजारमा गत साउन यता चार पटक चोरीका घटना भइसकेकोमा पुनः बिहिबार राती दिक्तेलका दुई पसलको ताला फोडेर चोरी भएको छ ।
अघिल्ला घटनाको दोषी पत्ता नलाग्दै  दिक्तेलबजारका व्यवसायी गुणराज र्सैजू र दिबेश चौधरीको किराना पसल चोरी भएको हो । चौधरीको नगद १२ हजार, ६ बोतल बियर र ६÷७ प्याकेट चुरोट तथा सैंजूको एक हजार चोरी भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरिक्षक चन्द्रभूषण यादवले बताउनुभयो । 
यस्तै, दिक्तेलस्थित लालुपाते सहकारी संस्था, निदेश दाहालको मोबाईल पसल र सरोज बिकको मोबाईल पसलको ताला फोडिएको छ । यसअघि साउन यता दिक्तेल अम्बागाछीस्थित रमेश बिकको न्यू हलेसी सुनचाँदी पशलबाट ताला फोडेर ४ आना सुन र ४० तोला चाँदी चोरी भएको थियो । 
यस्तै, जिल्ला अस्पताल खोटाङमा कार्यरत स्टाफनर्स संगीता जवेगुको ल्यापटप र चेकबुक तथा दिक्तेलस्थित सरस्वति माविको ताला फोडेर ग्याँस चुलो, इनटरनेटको राउटर लगायतका सामान चोरी भएको थियो ।