केदार मगर – पुस-१६, खोटाङको दिक्तेल-राजापानी-रेग्मीटार ग्रामीण सडक शिलान्यास गरिएको छ । शनिबार प्रजिअ शिवराम गेलाल र स्थानीय विकास अधिकारी वशन्तकुमार भण्डारीले दिक्तेल-१ को झिसेपु एक्ले पिपलमा भएको एक कार्यक्रम बीच ग्रामीण सडक शिलान्यास गरेका हुन् । जिविस गाविस उपभोक्ताको आर्थिक लगानीमा निर्माण पूरा हुने सडकले सदरमुकाम दिक्तेल-बाम्राङ-दिखुवा-बुइपा-बिजयखर्कहुँदै रेग्मीटार जोड्ने छ ।

सडक निर्माणका लागि जिविसले गत आर्थिक बर्ष २ लाख ८० हजार गाविसले एक लाख ४५ हजार र सडक बिभागबाट ७ लाख रुपैयाँ अनुदान प्राप्त भएको स्थानीय उपभोक्ता तथा राष्ट्रिय जनशक्ती पार्टीका जिल्ला अध्यक्ष ललितकुमार राईले बताए । सडक निर्माणको पहिलो चरणमा दिक्तेलदेखि बाम्राङ र बुइपा बीचको दिखुवा खोलासम्मको ६ किलोमिटर लामो सडक निर्माण गरिने छ । सडक निर्माण पूरा गर्नकालागि आवश्यक पर्ने थप रकम अन्य दातृ संस्था तथा निकायबाट जुटाईने राईले बताए ।
सडक शिलान्यास कार्यक्रममा उपस्थित भएका अतिथिहरुले एकजुट भएर शिलान्यास भएको सडक पूरा गर्नकालागि शुभकामना दिएका छन् । कार्यक्रममा नेपाली कांग्रेसका खोटाङ सचिव बीरकाजी राई राप्रपा नेपालका केन्द्रीय सदस्य बिजयकला राई जिल्ला अध्यक्ष जीवनकुमार श्रेष्ठ नेकपा एकीकृतका सचिव सनबहादुर राई प्रमुख जिल्ला अधिकारी शिबराम गेलाल स्थानीय विकास अधिकारी वशन्तकुमार भण्डारीलगायतले शुभकामना मन्तव्य दिएका थिए ।
कार्यक्रममा शसस्त्र प्रहरी बल हलेसी गुल्मका प्रहरी नायब उपरिक्षक ओजेश ओली जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक दुर्गा दाहाल नेपाल पत्रकार महासंघका कार्यबाहक अध्यक्ष दमन राई खोटाङखबर साप्ताहिकका सम्पादक दिलीप खत्री गाबिस सचिव ईन्द्र श्रेष्ठ सडक निर्माण उपभोक्ता सर्वसाधारण लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष राजेन्द्र राईको सभापतित्वमा सम्पन्न भएको सहकर्मी सचिन राईले जनाएका छन । – खोटाङदर्पण