आफ्नो जन्मभूमी, जन्मदिने आमा अनि जिवनकै अभिन्न अंग झै बनेको शिक्षाको सुरुवाती सिक्ने पाठशाला सबैका लागि प्यारो नै हुन्छ ।
त्यस्तै बनेको छ अहिले पूर्वी पहाडी जिल्ला खोटांगको च्यानडाँडा गाविसस्थित सेखुवामा रहेको श्री जालपा निमाविमा अध्ययन गरेका विद्यार्थीहरुलाई पनि ।

उनीहरुले आफूले ‘क’ ‘ख’ सिकेको त्यस विद्यालयको माया लागेर अनि भाई बहिनाहरुले थप नयाँ कुरा सिक्न सकुन भनेर त्यहाँ अध्ययन गरेका पूर्व विद्यार्थीहरु एउटा उदाहरणीय कामका लागि खटिरहेका छन् ।
पूर्व विद्यार्थी तथा सोही गाउँका युवाहरु आफूले पढेको विद्यालयमा पुस्तकालय स्थापनाका लागि कस्सिएका हुन् ।
टेनिस रोका र देवराज राईको सक्रियता तथा संयोजनमा भइरहेको सो कार्य अन्तर्गत अहिलेसम्म ८ हजार ५ सय रुपैयाँ संकलन भईसकेको छ ।
उनीहरुका अनुसार सो रकम अब चाँडै नै स्कुललाई पुस्तकालय स्थापनाका लागि पठाईने छ ।
हामीले बच्चावस्थामा क ख पढ्न र लेख्न सिकेको आफ्नै गाउँको स्कुलमा पुस्तकालय स्थापना भयो भने भाई बहिनाले नयाँ नयाँ कुरा सिक्न पाउनेछन् त्यसैले हामी हामी मिलेर यो काम गर्न लागेका छौँ कार्यक्रममा सक्रिय भूमिका खेलिरहेका देवराज राईले भने- ‘आफूले त्यहीँ पढेर यस्तो भइयो त्यति सहयोग गर्नु सामान्य कुरा हो ।’
यता, कार्यक्रममको संयोजन गरिरहेका टेनिस रोकाले सेखुवालीहरु जस्तै हरेक गाउँका युवाहरु एक भएर गाउँको स्वास्थ्य, शिक्षा लगायतका क्षेत्रमा काम गर्न आवश्यक रहेकोमा जोड दिए ।
उनले सेखुवालीले सेखुवामा पुस्तकालय स्थापना गर्न लागिरहेको भन्दै अरुले पनि यस्तै कामहरु सिक्नुपर्ने बताए ।
यो कार्यक्रमबाट १७ हजार भन्दा माथि रकम संकलन हुने आशा गर्दै उनले पुस्तकालयको स्थापनाका लागि रकमका साथै डिक्सनरी लगायतका शैक्षिक सामग्री पठाउने योजना रहेको जानकारी दिए ।
यो कार्यक्रममा सबैले सकरात्मकता देखाएको तर कोही कुन देश कोही अर्को देशमा भएकाले र अन्य केही प्राविधिक कारण सहयोग रकम संकलन गर्न अलि ढिला भएको उनले बताए ।
पुस्तकालय तथा विद्यालयलाई शैक्षिक सामग्री प्रदान गर्नका लागि देवराराईले मात्र ५ हजार सहयोग गरेका छन् भने नवराज राई, टेनिस रोका, इच्छा राई, कमला रोकाले स्वच्छाले सहयोग गरेका छन् ।
यस्तै, भारत लगायत अन्य विभिन्न देशमा रहेका सेखुवालीहरुले पनि सहयोग रकम पठाई रहेको तर सबै प्राप्त नगरी सकेको संयोजक रोकाले जानकारी गराए ।
सेखुवालीहरुले गरेको यो एउटा राम्रो कामको थालनी जस्तै अरुले पनि स्वास्थ्य, शिक्षा, कृषि लगायतका विषयमा आफूले सक्ने कामहरु एकताबद्ध भई आजैदेखि थाल्न आवश्यक भने छ ।