दमन राई/खोटाङ – जिल्ला शिक्षा कार्यालय खोटाङले आगामी वर्षदेखि चाम्लिङ राई भाषाको पाठ्यपुस्तक खरिद गर्नका लागि रकम उपलव्ध गराउने भएको छ ।

आगामी आर्थिक वर्षदेखि जिल्लाका चाम्लिङ राईको बसोबास रहेको गाउँमा चाम्लिङ भाषामा ऐच्छिक बिषय पठन पाठन शुरु हुने भएपछि जिल्ला शिक्षा कार्यालयले चाम्लिङ  भाषाको पाठ्यपुस्तक खरिद गर्नकालागि रकम उपलब्ध गराउने भएको हो ।


जिल्लामा चाम्लिङ भाषामा पठनपाठनको व्यवस्था मिलाउन माग गर्दै आज जिल्ला शिक्षा कार्यालय पुगेका किरात राई चामलीङ खाम्बातिमका पदाधिकारीहरुलाई जिल्ला शिक्षा अधिकारी कृष्णप्रसाद पोखरेलले पुस्तक खरिदका लागि रकम उपलब्ध गराउने आश्वसन दिए ।

जिल्लाका चाम्लिङ भाषा पढाई हुने बिद्यालय, पढाउने शिक्षक, बिद्यार्थी संख्या र कक्षाको बिबरण उपलव्ध गराएपछि त्यसको आधारमा बजेटको व्यवस्था गर्न पहल गरिने जिल्ला शिक्षा अधिकारी पोखरेलले बताए ।
किरात राई चाम्लिङ खाम्बातिमका केन्द्रीय सचिव शालीक सतासक राई, जिल्ला अध्यक्ष रामधन राई, चामलीङ भाषा अनुगमन तथा प्रबर्धन समितिका संयोजक जसराज किराती लगायतको टोली आज जिल्ला शिक्षा कार्यालयमा पुग्नु भएको थियो ।

आफ्नो भाषा हराउँदै जान थालेपछि किरात राई चामलीङ खाम्बातिम खोटाङले यस वर्षदेखि चामलीङ राईहरुको बाहुल्यता रहेको ठाउँमा प्राथमिक तहसम्म चाम्लिङ भाषा मै ऐच्छिक विषय पठन पाठन शुरु गर्ने भएको छ ।

यसका लागि खाम्बातिमले चाम्लिङ भाषाको पाठ्यक्रम तयार गर्न खाम्बातिमको केन्द्रीय कार्यालयमा सहयोगका लागि अनुरोध गरेको छ ।