दमन राई/खाटाङ – महा शिवरात्रीको अवसरमा आज पूर्वको पशुपतिनाथ भनेर परिचित खोटाङको हलेसीमा बिहानैदेखि पुजाआजा गर्ने दर्शनार्थीको घुँईचो लागेको छ । हलेसीमा दर्शन गर्न तथा हलेसीमा लाग्ने मेला भर्न नेपालबाहेक, छिमेकी देश भारत, चीन, भुटान लगायतका ठाउँबाट हजारौं श्रद्धालु भक्तजनहरु आएका छन् ।
 किरात, बौद्ध र हिन्दुधर्मावलम्बीहरुको त्रिवेणी स्थलका रुपमा मानिदै आएको हलेसीसम्म पुग्ने हलेसी–जयराम सडकखण्डमा कालोपत्रेका काम शुरु भएपछि यस पटक हलेसीमा आउने दर्शनार्थीको संख्या दोव्बर बढेको बजार व्यवस्थापन समितिले जनाएको छ । सडक कालोपत्रे गर्नकालागि फराकिलो बनाईएका कारण काठमाडौ, बिराटनटर, धरान, जनकपुर लगायतका दर्शनार्थीहरु गाडी रिजर्भ गरेर पनि आएका छन् । 
धार्मिक तथा साँस्कृतिक दृष्टिले प्रसिद्ध तिर्थस्थल हलेसीको दर्शन गर्नाले मनोकांक्षा पूरा हुने तथा महादेव गुफा, धर्मद्धार, पापद्धार, बसासा गुफा, भैरबगुफा अवलोकन गर्न पर्यटक तथा दर्शनार्थीहरु आउने गरेका छन् । 
यस्तै, हलेसीमा हप्तादिनसम्म लाग्ने मेला भर्न र आफुलाई आवश्यक सामग्रीहरु खरिद गर्नेहरुको भीड पनि उत्तिकै भीड लाग्ने बजार व्यवस्थापन समितिले जनाएको छ ।