शाहीमान राई – खोटाङ र भोजपुरको सिमावर्ती प्रसिद्ध टेम्के चुचुरोमा आयोजित सेल्मे टेम्के महोत्सवबाट फर्किरहेका तीन जना तिर्थयात्रीको ट्रक दुर्घटनामा मृत्यु भएको छ । आठ जना सख्त घाइते भएका छन् ।
  घाइतेको अवस्था गम्भिर छ ।

टेम्के नजिकै चखेवादेखि मंगलबार अपरान्ह भोजपुरतर्फ
आइरहेको को१ख २५६६ नं. को मिनिट्रक (स्वराज) गुप्तेश्वर गाविसको साउने घुम्तीमा पल्टिएको हो । सदरमुकामदेखि २० किलोमिटर पश्चिम भोजपुर–चिहानडाँडा पशुपति पारुहाङ राजमार्गमा एक्कासी ट्रक पल्टिंदा तीन जनाको घटनास्थलमै मृत्यु भएको हो । ट्रक चालक फरार छन् ।

दुर्घटनामा गुप्तेश्वर गाविस–६ का ४५ बर्षीया सावित्रा राई, सोही गाउँकी ६० बर्षीया जनककुमारी राई र जरायोटार लेगुवाका ६० बर्षीय राजन कार्कीको घटनास्थलमै मृत्यु भएको हो । घाइतेलाई एम्बुलेन्सबाट उपचारको लागि जिल्ला अस्पताल ल्याइएको छ । जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायव उपरीक्षक युवनारायण बैद्य र निमित्त प्रमुख जिल्ला अधिकारी मेखबहादुर मगरातीको नेतृत्वमा प्रहरी टोली उद्दारको लागि घटनास्थल पुगेर पीडितहरुको उद्दार गरेका थिए ।

दुर्घटनामा गुप्तेश्वरकी ६० बर्षिया भोजकुमारी प्रधान, १० बर्षिया रेनुका राई, गोमा बस्नेत, गणेश खत्री अन्नपूर्ण, सुमन अधिकारी अन्नपूर्ण, सम्झना राई भोजपुर देउराली, दावा किराती नागी र तेजन राई छन् । उनीहरुलाई जिल्ला अस्पतालबाट एम्बुलेन्स पठाएर उद्दार गरिएको हो ।

सेल्मे टेम्के चुचुरो आसपासको क्षेत्रलाई पर्यटकीयस्थलको रुपमा विकास गर्न आयोजित तीन दिने महोत्सवका लागि यात्रुबाहक बस, सामान ढुवानीका लागि ट्रक लगायत सयौंको संख्यामा निजी तथा सार्वजानिक सवारी संचालित थिए ।
 ( इकान्तिपुर डटकमबाट साभार)