खोटाङको गाउँगाउँमा सडक निर्माण सुरु गरिएसँगै गाउँलेहरुले रोजगार पाएका छन् । ग्रामीण पहुँच कार्यक्रम रयापले दिक्तेलदेखि मात्तिम–टेम्मा–याम्खा–पञ्चमी बजारसम्मको ५० किलोमिटर लामो मोटरबाटो निर्माण सुरु गरेपछि त्यस क्षेत्रका हजारौँ स्थानीयवासीले रोजगार पाएका हुन् । 

 गाउँलेहरु समूहमा आबद्ध भएर केटाकेटीदेखि वृद्धासम्म सबैले सडक निर्माणको काम गरिरहेका छन् भने महिलाहरुको सडक निर्माणमा अधिकतम सहभागिता रहेको छ । कतिपय युवाहरु बेरोजगार भएर विदेशिएपछि सडक निर्माणमा महिला नै अग्रसर भएर लागिपरेका छन् ।
 उनीहरुले दिनको रु पाँच सयसम्म कमाई गर्ने गरेका छन् । उनीहरुले भविष्यमा यातायात सञ्चालनको अनुमान गरी विभिन्न प्रकारका फलफूल र तरकारी खेती सुरु गरेका छन् ।

मात्तिम गाविस निवासी सङ्गीता राईले सडक आफ्नै घरछेउबाट निर्माण भएको र पछि यहाँ उत्पादन गरिएको फलफूल बाहिर पठाउन सहज हुने भएपछि आफ्नो डेढ रोपनी जग्गामा सुन्तला, कागती, कटहरलगायतका फलफूल बाली लगाएको बताए । 

गाउँघरमा सडक विस्तारको क्रम सुरु भएपछि याम्खा, टेम्मा गाविसका किसानले अलैँची र फलफूलका खेती सुरु गरेका छन् ।