दमन राई/खोटाङ – मादक पदार्थ सेवन गरेका श्रीमानले शारिरीक र मानसिकरुपमा दुःख दिन थालेपछि खोटाङ सदरमुकाम दिक्तेलका महिलाहरु मादक पदार्थ विरुद्धको अभियानमा जुटेका छन् ।
जाँड रक्सी लगायतका मादक पदार्थ पिएर आएका श्रीमानले गाउँमा हो–हल्ला तथा झगडा गर्दै श्रीमतीलाई कुटपिट गर्नेक्रम बढेपछि दिक्तेल–३ र ४ का महिलाहरुले मादक पदार्थबिरुद्धको अभियान थालेका हुन् । आमा समुहले आज नाराजुलुस सहित गाउँ परिक्रमा गर्दै मदिराजन्य पदार्थ बिक्री तथा सेवन नगर्न सचेत गराएको छ ।

समुहले आफ्नो दिक्तेल–३ र ४ को उत्तरमा उजेली खोला, दक्षिणमा बसैखा खोला, पुर्वमा हस्पिटलदेखि अल्छेढुंगा तथा पश्चिममा मेवाखोला सम्मको क्षेत्रलाई मदिरा निषेधित क्षेत्र घोषणा गरेका छन् ।

अभियानको शुरुमै आज उनीहरुले गाउँका मादक पदार्थ सेवन गर्ने तीन जनालाई आउँदा दिनमा मादक पदार्थ सेवन नगर्ने शर्तमा हस्ताक्षर गराएका छन् ।

मादक पदार्थ नियन्त्रणकालागि घरदैलो अभियान थालेका आमा समुहले आजै जिल्ला प्रशासन, जिल्ला प्रहरी तथा कोलेनीका कार्यालयसँग आफ्नो अभियानमा सहयोग गर्न अनुरोध गरेको छ ।

समुहले ज्ञापनपत्र बुझाउँदै मादक पदार्थ बिरुद्धको अभियानमा सहयोग गर्न आग्रह गरेको हो । महिलाहरुको अभियानलाई सहयोग गर्ने प्रमुख जिल्ला अधिकारी केशबराज आचार्यले आश्वासन दिनु भएको छ ।

समुहले मादक पदार्थ सेवन गर्ने व्यक्तीलाई पहिलो पटक भए समाजको अगाडि सार्वजनिक गर्ने, दोश्रो पटक भए पाँच सय जरिवाना सहित सञ्चार माध्यमबाट नाम, ठेगाना र तस्बिर प्रकाशन तथा प्रशारण गर्ने र तेश्रो पटक भए कानूनी कारबाहीकालागि प्रकृया अघि बढाउने आमा समुहकी अध्यक्ष सरस्वति आचार्यले बताउनु भयो ।