दमन राई – जिल्ला कृषि बिकास कार्यलय खोटाङले जिल्लाका कृषकहरुलाई उन्नत जातको धानको बिउ वितरण शुरु गरेको छ ।

कृषि विकास कार्यालयले ५० प्रतिशत अनुदानमा जिल्लाका किसानहरुलाई खुमल–८, खुमल–१३, मकवानपुर–१, साबीत्री लगायतका उन्नत जातको धानको बिउ वितरण शुरु गरेको हो ।
कृषि कार्यालयले धानको बीउसँगै बिउ भण्डारण गर्ने ड्रम अर्थात सिपबीन, औषधी छर्कने स्प्रेर्यस, हजारी, मुसाको खोर, स्प्रीङ्कलर लगायतका कृषि उपकरणहरु पनि बितरण गरिरहेको कृषि बिकास कार्यालय खोटाङका प्राबिधिक सहायक रामनाथ शाहले जानकारी दिनुभयो ।

यी कृषि उपकरणहरु २५ देखि ५० प्रतिशत अनुदानमा बितरण भइरहेको छ । धान खेतीको बिउ राख्ने मौषमलाई मध्यनजर गर्दै कृषि कार्यालयले बिभिन्न कृषि उपकरणहरुकासाथमा उन्नत जातको धानको बीउ बितरण शुरु गरेको जनाएको छ ।

जिल्लाको मुख्य बालीको रुपमा रहेको धान खेती खोटाङका १५ हजार २०२ हेक्टर क्षेत्रफलमा गरिदै आईएको छ ।