ट्याक्टरले किचेर एक बालकको ज्यान गएको छ । ना ३ त ७११३ नम्बरको
ट्याक्टरले किचेर खाल्ले १ का पाँच वर्षीय अनुप राईको सोमबार बिहान ज्यान
गएको हो ।

सदरमुकाम दिक्तेलस्थित माउण्ट एभरेष्ट बोर्डिङ स्कुलमा नर्सरीमा अध्ययनरत
राईलाई विद्यालय जाने क्रममा दिक्तेलको पुरानो बैंक चोकमा विहान पौने दश
बजे ट्याक्टरले किचेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ट्याक्टर
चालक शिवनारायण चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।

बालकको ज्यान गएपछि आक्रोसित स्थानीयबासीले सदरमुकाम दिक्तेल बजार बन्द
गराएका छन् । हत्यारालाई कारबाहीको माग गर्दै आक्रोसित समूहले अहिले
नाराबाजी गर्दै जिल्ला प्रहरी कार्यालय घेराउ गरिरहेका छन् । सदरमुकाम
दिक्तेल बजार दिनभर तनावग्रस्त बनेको छ ।

हत्याको बिरोधमा उत्रिएको अभिभावक, स्थानीयबासी, विद्यार्थी तथा प्रहरीबीच
झडपहुँदा दिक्तेल-१ का दिपक कट्वाल घाइते भएका छन् । बजार बन्द गराउँदै
हिँडेका समुहले बा ५ च ७९३४ नम्बरको जीप तोडफोड गरेका छन् । बालकको शवलाई
अहिले जिल्ला अस्पतालमा राखिएको छ भने बाबु दशरथ र आमा पुष्पा राई बेहोस
छन् । – Ekantipur