ट्याक्टरले किचेर एक बालकको ज्यान गएको छ । ना ३ त ७११३ नम्बरको ट्याक्टरले किचेर खाल्ले १ का पाँच वर्षीय अनुप राईको सोमबार बिहान ज्यान गएको हो ।

सदरमुकाम दिक्तेलस्थित माउण्ट एभरेष्ट बोर्डिङ स्कुलमा नर्सरीमा अध्ययनरत राईलाई विद्यालय जाने क्रममा दिक्तेलको पुरानो बैंक चोकमा विहान पौने दश बजे ट्याक्टरले किचेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ट्याक्टर चालक शिवनारायण चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।

बालकको ज्यान गएपछि आक्रोसित स्थानीयबासीले सदरमुकाम दिक्तेल बजार बन्द गराएका छन् । हत्यारालाई कारबाहीको माग गर्दै आक्रोसित समूहले अहिले नाराबाजी गर्दै जिल्ला प्रहरी कार्यालय घेराउ गरिरहेका छन् । सदरमुकाम दिक्तेल बजार दिनभर तनावग्रस्त बनेको छ ।

हत्याको बिरोधमा उत्रिएको अभिभावक, स्थानीयबासी, विद्यार्थी तथा प्रहरीबीच झडपहुँदा दिक्तेल-१ का दिपक कट्वाल घाइते भएका छन् । बजार बन्द गराउँदै हिँडेका समुहले बा ५ च ७९३४ नम्बरको जीप तोडफोड गरेका छन् । बालकको शवलाई अहिले जिल्ला अस्पतालमा राखिएको छ भने बाबु दशरथ र आमा पुष्पा राई बेहोस छन् । – Ekantipur



Loading Facebook Comments ...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here