दमन राई – खोटाङका राजनैतिक दल, नागरिक समाज र उद्योगी ब्यवसायीले राज्य पुनर्संरचनापछि बन्ने प्रदेशको राजधानी खोटाङ हुनुपर्ने माग गरेका छन् । उद्योग वाणिज्य संघले बिहीबार गरेको कार्यक्रममा उनीहरुले प्रस्तावित ११ प्रदेशमध्ये एउटाको राजधानी खोटाङ हुने १० वटा तर्कसमेत दिएका छन् ।

वरपरका ५ वटा जिल्लासंग सिमाना जोडिएको, सबै जिल्ला छुनेगरी सडक विस्तार भएको, मध्यपहाडी राजमार्गले छोएको, धार्मिक स्थल हलेसी रहेको तथा सार्वजनिक निजी साझेदारीमा ठूला क्षमताका विद्युत उत्पादन शुरु गरिएको जस्ता कारणले खोटाङलाई राजधानी बनाउन उपयुक्त हुने कार्यक्रमका सहभागीहरुले बताएका थिए ।
खोटाङ उद्योग बाणिज्य संघले आयोजना गरेको ‘खोटाङ जिल्लालाई प्रादेशिक राजधानी’ विषयक छलफल तथा अन्तरक्रिया कार्यक्रममा एकीकृत नेकपा माओबादी, नेपाली कांग्रेस, नेकपा एमाले, उद्योग बाणिज्य संघ, गैर–सरकारी संस्था महासंघ, निर्माण व्यवसायी संघ, नागरिक समाजले प्रादेशीक राजधानी बनाउन शान्तिपूर्ण दवावका कार्यक्रमहरु सञ्चालन गर्ने निर्णय गरिएको छ ।

त्यसका लागि उद्योग बाणिज्य संघको संयोजकत्वमा ७ सदस्यीय भेला आयोजक समिति गठन भएको छ । समितिका सदस्यहरुमा गैर–सरकारी संस्था महासंघ, नेपाल पत्रकार महासंघ, यातायात व्यवसायी संघ, निर्माण व्यवसायी संघ, आदिबासी जनजाती जिल्ला समन्वय परिषद, दिक्तेल बजार सामाजिक गुठी र मुभीलेण्ड हाईभिजन हल रहेका छन् । – उज्यालो