विगत एक महिनाभन्दा लामो समयको खडेरी तथा सुख्खाका कारण उदयपुर जिल्लाको पहाडी गाविसलगायत छिमेकी जिल्ला खोटाङ क्षेत्रमा मकैबाली मरेर नष्ट भएको स्थानीय बासिन्दाले बताएका छन् ।

उदयपुरका बाँसबोटे, ताम्लिछा, बलाम्ता, ठानागाउँ, रुपाटार, हर्देनी, लाफागाउँ, जाँते क्षेत्रमा लामो समयदेखि सुख्खा खडेरी भएपछि केही क्षेत्रमा लगाइएका मकैबाली पूर्णरुपमा मरेर नष्ट भएको उदयपुर ठानागाउँका कृष्णप्रसाद बरालले बताउनुभयो ।

    यस्तै, मकैबाली मरेर कम नलाग्ने भएपछि सबै खेतबारी बाँझो भएको र आफूहरुले यस पटकको मकैबाली गुमाएको उदयपुर बाँसबोटेको खम्बबहादुर राईले गुनासो गर्नुभयो ।

    उता जिल्लाकै छिमेकी जिल्ला खोटाङको मध्य तथा उत्तरी क्षेत्रमा पनि मकैबाली खडेरीको कारण पूर्ण रुपमा नष्ट भएको स्थानीय बासिन्दाको भनाइ छ । सदरमुकाम दिक्तेल, बुईपा, विजयखर्क, राजापानी तथा हलेसीको रातमाटा, च्यास्मिटार, अर्खौले क्षेत्रमा खेतबारीको मकैबाली खडेरीको कारण पूर्णरुपमा मरेको खोटाङ विजयखर्कका टङ्कबहादुर राईले बताउनुभयो । रासस