राज्य पुनः सरंचनामा अहिले के र कस्तो हुने भन्ने विषय अन्यौलमा छ । संविधानसभा अन्तर्गतको समितिले जातिय पहिचानसहित १४ राज्यको प्रस्ताव गर्यो र त्यो बहुमतबाट पारित पनि भयो । तर त्यो कांग्रेस एमालेले मानेनन् । माओवादीले सोही आधारमा राज्य हुनुपर्छ भनिरहेको छ । कांग्रेस एमाले जातिय आधारमा राज्य हुदै हुनुहुन्न भनिरहेका छन् ।
एक पटक त ११ प्रदेश नाम र सिमांकन बिनै कुरो मिल्यो भनेको थियो त्यो पनि मिलेको छैन ।

यस्तै यस्तै तरिकाले प्रदेशको बारे छलफल र बहस भईरहँदा राज्य पुनर्संरचनापछि बन्ने प्रदेशको राजधानी खोटाङलाई बनाउने पक्षमा समर्थन जुटाउन खोटाङमा भन् घरदैलो अभियान सुरु भई सकेको छ ।

प्रादेशिक राजधानी स्थापना समन्वय समितिले खोटाङको दिक्तेललाई राजधानी बनाउने पक्षमा जनमत जुटाउन घरदैलो अभियान सञ्चालन थालेको हो ।

प्रदेशको नाम जे भएपनि राजधानी दिक्तेल बनाउन दवाव अभियान थालेको समन्वय समितिले पक्षमा जनमत जुटाउन खोटाङ, सोलखुम्बु, ओखलढुंगा, उदयपुर, भोजपुर र संखुवासभालाई समेटेर तयार पारिएको नक्सा र आधारसहितको ब्रोसियर समेत वितरण गर्न थालेको छ ।

प्रादेशिक राजधानी दिक्तेल हुनपर्ने आधारका बारेमा सर्वसाधारणलाई जानकारी गराउन र त्यसका पक्षमा आवाज उठाउन उद्योग बाणिज्य संघको पहलमा अभियान चलाईएको हो ।

खोटाङले वरपरका ५ वटै जिल्लालाई छोएको, ५ वटै जिल्ला तथा तराई जोड्ने सडक बिस्तार भएको, काठमाडौं जोड्ने बीपी राजमार्ग तथा मध्यपहाडी राजमार्गले छोएको लगायतका कारण दिक्तेल प्रादेशिक राजधानी बन्नुपर्ने बताइएको छ ।

समितिको कार्यक्रम अन्तर्गत जिल्ला तथा केन्द्र तहमा दवाव सिर्जना गर्न शुक्रवार सदभाव र्याली निकाल्ने र ६०१ सभासदलाई ६०१ थुंगा फूलको एउटा माला पठाइने  छ ।