जेठ २५ – खोटाङमा दलित भएको थाहा पाएर युवतीलाई कोठाबाट निकाल्ने घरधनीले माफी मागेका छन् ।

आफ्नो घरमा डेरा गरेर बस्ने युवतीलाई दलित भएको थाहा पाएपछि निकाल्ने दिक्तेल–१ का युवराज बस्नेतले जातका आधारमा भेदभाव नगर्ने प्रतिवद्धता जनाएर माफी मागेका हुन् ।
जिल्ला प्रहरी कार्यालय खोटाङमा खाना पकाउने काम गर्ने बस्नेतले जेठ २० गते छोरम्बु ७ की कविता रोकालाई दलित भएको भन्दै आफ्नो घरबाट निकालेका थिए । बस्नेतले गल्ती स्वीकार गर्दै माफी मागेको नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ खोटाङका अध्यक्ष चर्चबहादुर विश्वकर्माले बताए ।

पीडित युवतीले न्यायको माग गर्दै जिल्ला प्रहरी कार्यालय खोटाङमा उजुरी दिएपछि दलित अगुवा तथा प्रहरीबीच भएको छलफलमा बस्नेतले माफी मागेका हुन् । कविता अर्कै घरमा डेरा लिएर बसेकी छन् ।