खोटाङ – प्रशासन र प्रहरीकै अगाडि छुरा प्रहार भई खोटाङमा तीन युवक घाइते भएका छन् ।

सदरमुकाम दिक्तेलको माटिकोरे खेलमैदानमा आज आयोजना गरिएको जिल्लास्तरीय साकेला सिली प्रदर्शनीमा दोर्पा चिउरीडाँडा–१ का भुपाल राईको छुरा प्रहारबाट दिक्तेल–२ का जितेन्द्र राई, दिक्तेल–१ का युवराज राई र सुजन राई घाइते भएका हुन् ।

छुरा प्रहारबाट गम्भीर घाइते भएका जितेन्द्रको ढाडमा गहिरो चोट लागेको छ । यस्तै युवराजको बायाँ हातको पाता र पाखुरा तथा सुजनको दाहिने हातको नाडी र औंलामा चोट लागेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

घाइतेमध्ये जितेन्द्रको अवस्था गम्भीर छ । खोटाङका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपाल, प्रहरी नायब उपरीक्षक वसन्तकुमार थापा, सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक ओझेश ओली र बजरजङ गणका गणपति सुनिश घले अतिथि रहेको कार्यक्रम स्थलमै उनीहरूमाथि छुरा प्रहार भएको हो ।

छुरा प्रहार गर्ने भुपाल फरार रहेको प्रहरीको भनाइ छ । सार्वजनिक स्थलमै युवामाथि छुरा प्रहार भएपछि माटिकोरे खेल मैदानमा साकेला नाचिरहेका किराँती युवायुवतीको भागडौद मच्चिएको थियो ।

घाइते तीनै जनाको जिल्ला अस्पताल दिक्तेलमा उपचार भइरहेको छ । किराँत समुदायको उभौली पर्वको अवसरमा किराँत राई यायोक्खा र किराँत सेवा समाज खोटाङले साकेला सिली प्रदर्शनीको आयोजना गरेको थियो ।

साकेला शिली प्रदर्शनीमा जिल्लाका २२ समूहले विभिन्न खालका सिली नाच देखाउने कार्यक्रम थियो । रासस