खोटाङ, ८ असार । चट्याङ लागेर खोटाङमा दुई महिलाको मृत्यु भएको छ । बिहीबार साँझ परेको चट्याङ लागेर हौंचुर–१ पैयाँकी ५९ वर्षीया कमलसरी राई र २९ वर्षीया देवी तामाङको मृत्यु भएको हो ।

 चट्याङ लागेर बेहोस बनेका उनीहरूको आज बिहानपख मृत्यु भएको स्थानीय दावा शेर्पाले जानकारी दिए ।

चट्याङ लागेर बेहोस बनेका सनमान तामाङको अझै होस नखुलेको स्थानीयवासीले जानकारी दिएका छन् ।

बेहोस बनेका अन्य घाइतेको भने होस खुलिसकेको छ ।

घटनास्थलतर्फ आज बिहान प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यस्तै, चट्याङले खार्मीका लेकगाउँ, गोपीखर्क, निगालेलगायतका घरहरूमा पनि क्षति पु¥याएको छ ।

विद्युत्को मेन लाइन र घर–घरको लाइनमा व्यवस्थित अर्थिङ तथा राम्ररी वाइरिङ नगरिएका कारण एक ठाउँमा परेको चट्याङले सबै ठाउँमा धनजनको क्षति पु¥याएको स्थानीयवासीको भनाइ छ ।