उदयपुर र ओखलढुङ्गाको सिमानामा रहेको सुनकोशी नदी वारपार गर्न लगाइएको बेलिब्रिज सडक आयोजनाले हटाएपछि खोटाङसहित तीन जिल्लाको जनजीवनमा मर्का थपिएको छ । हिउँदको समयमा मालसामान ढुवानी तथा यात्रुहरु आवत जावतमा सहज बनाउनका लागि निर्माण गरिएको बेलिब्रिज बर्षायाम शुरु भएसँगै निकालिएको हो । झण्डै ४० लाख रुपैयाँको लागतमा निर्माण गरिएको यो बेलिब्रिज नदीमा पानीको बढ्दो वहाबसँगै निकालिएपछि माथिल्लो सगरमाथाका तीन जिल्ला ओखलढुंगा खोटाङ र सोलुखुम्बुका बासिन्दा प्रत्यक्ष मारमा परेका छन् । बेलिब्रिज निकाले छि त्यस क्षेत्रमा सञ्चालित हुने यातायातका साधनहरु प्रत्यक्ष मार खेप्दै आएका छन् । सुनकोशी नदीमा लामो समयसम्म पक्की पुल निर्माण हुन नसकेपछि तत्काल समस्याको समाधानका लागि पुलको विकल्पमा हर्कपुर ओखलढुंगा सडक आयोजनाले बेलिब्रिज सचालन गरेको थियो । बेलिब्रिजको अभावमा अहिले मालवाहक सवारी साधनलाई जोखिमपुर्ण रुपमा फेरीबाट तार्न थालिएको छ । यससँगै उदयपुरको घुर्मीबाट ओखलढुंगासम्म चल्ने सिधा यातायात समेत अबरुद्ध भएको बस व्यवसायी शत्रुधन कार्कीले बताए । बेलिब्रिज गत माघ १५ गतेदेखि सञ्चालनमा आएको थियो । त्यससँगै उपभोक्तालाई खाद्यन्न लगायत अन्य उपभोग्य वस्तुमा लाग्ने दोहोरो ढुवानीको समस्या समाधान भएको थियो । हिउँदको चार महिनासम्म वेलिब्रिजको उपभोग गर्न पाउदा दैनिक उपभोग्य तथा अन्य मालसामनहरु खरीदमा केही सहज भएपनि यसले निरन्तरता पाउन नसकेपछि एक्कासी महंगी बढेको छ ।