खोटाङ बैशाख–१, खोटाङ सदरमुकाम दिक्तेलबजारमा मिसावट भएको चिनी भेटिएको गुनासो आएपछि एक पसलमा शिलबन्दी गरिएको छ । सदरमुकामस्थित पाण्डे भेराइटिजको जानकी जेनरल अर्डर एण्ड सप्लायर्सबाट उपभोक्ताले खरिद गरेको चिनीमा यूरिया मिसाईएको पाईएको गुनासो आएपछि प्रशासनले शिलबन्दी गरेको छ । 
ग्राहकले खरिद गरेको चिनीको प्याकेटमा यूरिया मिसिएको भेटिएको गोप्य सूचनाका आधारमा जिल्ला प्रशासन कार्यालयका नासु लिलाबहादुर बिश्वकर्मा नेतृत्वको टोलीले उद्योग बाणिज्य संघका पदाधिकारीको रोहबरमा शुक्रबार राती पशल तथा गोदाम शिलबन्दी गरेको हो । 
प्रशासनले चिनीमा मिसावट भए÷नभएको अनुसन्धानका लागि पाण्डे भेराइटिजको गोदाम र पसल शिलबन्दी गरेको हो । तराईबाट मिसावट भएको चिनी ल्याइएको वा दिक्तेलमै मिसावट गरिएको भन्ने विषय अनुसन्धानपछि मात्र पूष्टी हुने प्रशासनले जनाएको छ । 
सूचनाका आधारमा प्रहरी पुग्नु अगाडि मिल्काउनका लागि पठाउन लागिएको साँढे तीन बोरा चिनी र ना ५ ख ७१३० नम्बरको ट्रक सामुदायिक सेवा केन्द्रको नियन्त्रणमा राखिएको छ । ट्रकमा फेला परेको चिनीको बोरामा समेत शिलबन्दी गरिएको प्रशासनका नासु बिश्वकर्माले बताउनुभयो ।