खोटाङ – विद्यार्थीको सङ्ख्या घटेपछि खोटाङका तीनवटा विद्यालयलाई छिमेकी विद्यालयमा गाभिएको छ । गाउँघरमा खुलेका निजीस्तरका अङ्ग्रेजी स्कुलमा बालबालिका पढाउन थालिएपछि सरकारी विद्यालय धमाधम बन्द हुने अवस्थामा पुगेका हुन् ।

   यहाँका प्रत्येक घरका युवा वैदेशिक रोजगारीको सिलसिलामा विदेश गएका र उनीहरूले पठाएको पैसाले निम्नस्तरका परिवारले पनि आफ्ना बालबालिकालाई निजी र महँगा स्कुलमा पढाउन थालेपछि सरकारी विद्यालय बन्द हुँदै गएका हुन् ।

    विद्यालयमा विद्यार्थीको सङ्ख्या घटेपछि सदरमुकाम दिक्तेलको नेपाल बालमन्दिर प्राथमिक विद्यालयलाई सरस्वती उच्च मावि दिक्तेलमा गाभिएको छ । करिब एक सय विद्यार्थीलाई उच्च माविमा गाभिएको शिक्षा कार्यालयले जनाएको छ ।

    त्यस्तै, ऐँसेलेखर्कको त्रिभुवन प्राविलाई त्रिभुवन उच्च माविमा र खोटाङबजारको बालमन्दिर प्राविलाई भगवती उच्च माविमा गाभिएको छ । जिल्ला शिक्षा कार्यालयमा हालै जिल्लास्तरको सर्वपक्षीय संयन्त्रले विद्यार्थी सङ्ख्या कम भएका जिल्लाका तीनवटा प्राविलाई नजिकको विद्यालयमा ‘मर्ज’ गरिएको जिल्ला शिक्षा अधिकारी कृष्णप्रसाद पोखरेलले बताउनुभयो ।

    जिल्लामा मर्ज गर्ने खालका अन्य धेरै विद्यालय भए पनि भौगोलिक कारणले हिँड्न नसक्ने स–साना विद्यार्थीलाई ध्यानमा राखेर हाललाई तीनवटा विद्यालयलाई मात्र अर्को विद्यालयमा गाभिएको जिल्ला शिक्षा अधिकारी पोखरेलको भनाइ छ ।

यसरी मर्ज भएका विद्यालयका भवन र जग्गा बाल सङ्गठनको नाममा रहने र चल सम्पत्ति मर्ज गरिएको विद्यालयमा प्रयोग गरिने पोखरेलको भनाइ छ । बैठकले जिल्लामा कार्यरत ५४ जना शिक्षकको दरबन्दी मिलान गरेको पनि शिक्षा कार्यालयले जनाएको छ ।

यसैबीच, विद्यार्थी सङ्ख्या कम भएपछि साउनेचौर गाविसको राप्चादेवी प्राविलाई बन्द गरिएको छ ।