खोटाङ – निर्माण कार्य थालिएको पाँच वर्षपछि खोटाङको ऐसेलुखर्कमा प्राथमिक स्वास्थ्य केन्द्र सञ्चालनमा आएको छ । भवन तथा सहरी विकास डिभिजन कार्यालय ओखलढुङ्गाको एक करोड ६९ लाखको लागतमा आर्थिक वर्ष २०६३÷६४ बाट भवन निर्माण कार्य सुरु गरिएको थियो । छ शय्याको एक भवन, एक प्रसूतिगृहका साथै ओपिडी सेवाका लागि छुट्टाछुट्टै भवन निर्माण भएपछि स्वास्थ्यकेन्द्रले आफ्नै नयाँ कार्यालयबाट सेवा सञ्चालन सुरु गरेको जिल्ला अस्पताल खोटाङले जनाएको छ । यसअघि भवनको अभावमा स्वास्थ्य केन्द्रले स्थानीय त्रिभुवन उच्च माविको भवनबाट आफ्नो सेवा प्रदान गर्दै आएको थियो ।