२९ असार । सशस्त्र द्वन्द्वको समयमा तत्कालीन नेकपा (माओवादी)द्वारा ध्वस्त बनाइएको खोटाङको जिल्ला कारागार पुनःनिर्माण गरिएसँगै नौ वर्षपछि सञ्चालनमा आएको छ ।

जिल्ला कारागार शाखा खोटाङका जेलर चित्राखर आचार्यले ६५ पुरुष र ३० महिला बन्दी राख्न सकिने क्षमता भएको कारागारको निर्माणकार्य सम्पन्न भएसँगै सञ्चालनमा ल्याइएको बताउनुभयो ।

कारागार सञ्चालनमा आएसँगै पाँचजना थुनुवा कैदीलाई राखिएको कारागार शाखाले जनाएको छ । दुवै बन्दीगृहको निर्माणकार्य सम्पन्न भए पनि कार्यालय र सुरक्षा क्याम्पको भवन निर्माणकार्य नसकिएकाले तत्कालका लागि महिला बन्दीगृहमा कार्यालय र सुरक्षा क्याम्पको काम सञ्चालन गरिएको जेलर आचार्यको भनाइ छ ।

यसअघि जिल्लामा कारागारको अभावमा बन्दीलाई जिल्ला प्रहरी कार्यालयमा र मुद्दा फैसला भइसकेका कैदीलाई सुनसरीको झुम्कामा लगिँदै आएको कारागार शाखाले जनाएको छ ।