टेनिस रोका, साउन ११ – पूर्वी पहाडी जिल्ला खोटाङमा गुणस्तरीय उपचार अभाव र यातायातको असुविधाका कारण त्यहाँका बासिन्दाले ज्यान गुमाईरहन परेको छ । खोटाङमा बिहीबार मात्रै पनि बिरामीलाई उपचारका लागि काठमाडौँ ल्याउन गएको एक हेलिकप्टरले लास लिएर फर्किएको छ । मङ्गलबार दिउँसो शौचालय गर्न जाँदा लडेर बेहोस बनेका दिक्तेल–२ का डिजेन्द्र जोशीलाई उपचारका लागि काठमाडाँै ल्याउन गएको हेलिकोप्टर मौसम खराबीका कारण उड्न नसकेपछि अन्तमा लास लिएर फर्किएको हो । बिरामीलाई उपचारका लागि राजधानी लिन दिक्तेल पुगेको हेलिकोप्टर आज बिहान साढे ५ बजे लास बोकेर राजधानी फर्किएको छ । कुहिरो लागेको र सिमसिम पानी परिरहेकोले दुई दिनसम्म हेलिकोप्टर उड्न सकेको थिएन । थप उपचारका लागि काठमाडौँ लैजाने तयारी गरिएको भए पनि मौसम खराबी भएपछि जोशीलाई पुनः जिल्ला अस्पतालमा नै भर्ना गरिएको थियो । लडेर अचेत बनेका जोशीको गएराति अस्पतालमा नै मृत्यु भएको थियो । श्रीमतीसहित खोटाङ दिक्तेलमा व्यवसाय गर्दै आएका जोशीको लास अन्तिम संस्कारका लागि सोही हेलिकोप्टरमार्फत राजधानी ल्याइएको छ । खोटाङमा हाल लामीडाँडा, थामखर्क र मनमाया गरी तीन वटा एयरपोर्ट रहेपनि त्यहाँ जहाज पुग्ने ठेगान रहदैन भने आर्थिक अवस्था कमजोर हुनेले जहाज चढ्न सक्ने अवस्था समेत रहदैन । खोटाङमा केही वर्षदेखि सडक बाटो पुगेको भएपनि त्यहाँबाट बिरामीलाई सडक बाटो भएर काठमाडौँ ल्याउन सकिने अवस्था छैन । पूर्वको कर्णाली जस्तै मानिएको खोटाङका बासिन्दाले गुणस्तरीय स्वास्थ्य सेवा पाउन कि त धरान या त धनकुटा नै झर्न पर्ने हुन्छ । तर, सडक बाटोबाट धरान धनकुटा आई पुग्न पनि त्यहाँका बासिन्दालाई २ दिन बढी समय लाग्ने गर्छ । धरान धनकुटा झर्न भोजपुर बजार या त उदयपुरको गाईघाट हुँदै जानुपर्ने हुन्छ । तर त्यहाँ कच्ची बाटो भएको र त्यो पनि वर्षाले जताततै बिग्रिएकाले कुनै सम्भावना छैन । सोही कारण पनि खोटाङवासी गुणस्तरीय स्वास्थ्य उपचारका लागि हेलिकप्टर चार्टर गर्न बाध्य हुँदै आएका छन् । हेलिकप्टर चार्टर गर्न नसक्नेहरुले भने आफ्नो ज्यान उपचार अभावका कारण खेर फाल्दै आएका छन् । निर्वाचनहरुमा खोटाङवासीले आफ्नो प्रतिनिधि चुनेर पठाए पनि उनीहरुले चुनेर पठाएका जो व्यक्तिहरु राजधानी आएपछि खोटाङलाई फर्केर नहेर्ने गरेको र चुनावमा मात्रै भोट माग्न जाने गरेको खोटाङवासीहरुको गुनासो रहदै आएको छ । खोटाङले राजनीतिक विश्लेषक तथा अर्थशास्त्री हरि रोका, पूर्व निर्वाचन आयुक्त भोजराज पोखरेल, पूर्व सशस्त्र प्रहरी प्रमुख सनत कुमार बस्नेत, दर्जनौँ दर्जन प्रख्यात राष्ट्रिय कलाकार, लेखक, बुद्धिजिवि, डाक्टर लगायत जन्माए पनि त्यहाँका बासिन्दाहरुका समस्या भने उही नै छन् । त्यसो त संविधान नै जारी नगरी मृत घोषित भएको संविधानसभाका लागि खोटाङवासीले चुनेर पठाएका अस्मिता कार्की र हिरा गुरुङ भने अहिले बहु बिवाह गरेर खोटाङवासीलाई लगभग बिर्सने क्रममा छन् । गुरुङको श्रीमानलाई जनयुद्धका बेला तत्कालिन माओवादीले गोलि हानि हत्या गरेको थियो । कार्कीले भने आफ्नो श्रीमान हुँदाहुँदै पनि बहुबिवाह गरेकी हुन् । उनैले जनयुद्धका बेला बहुबिवाह गर्नेलाई भाटे कारबाही गर्दै हिडेकाले उनीमाथि खोटाङबासी भने असन्तुष्ट छन् ।