साउन १६ – गाउँमा पहिलोपल्ट बिजुली बलेपछि खोटाङको काहुलेमा खुसियाली छाएको छ । स्थानीय रुमरुवा खोलाबाट निकालिएको बिजुली बलेपछि काहुले–१, २ र ३ का उपभोक्तामा खुसियाली छाएको हो । पेल्ट्रिसेट जडान गरी निकालिएको ११ किलोवाट क्षमताको लघुजलविद्युत् आयोजनाले काहुलेका १२० घरधुरीमा विद्युत्को पहुँच पुगेको स्थानीय सामाजिक परिचालक भवानीशङ्कर लुइँटेलले बताउनुभयो । लघुजलविद्युत् आयोजनामार्फत गाउँमा विद्युत् विस्तार भएपछि बत्ती बाल्नुका साथै टिभी, रेडियो, मोबाइल सेवालगायतका विद्युतीय उपकरण सञ्चालन गर्न सहज भएको उपभोक्ताको भनाइ छ । ग्रामीण जीविकोपार्जनका लागि ग्रामीण ऊर्जा विकास कार्यक्रमको १५ लाख ४० हजार, काहुले गाविसको १० लाख, समुदायको पाँच लाख, जिल्ला विकास समितिको तीन लाख तथा २५ लाखबराबरको श्रमदान गरी ६१ लाख रुपैयाँको लागतमा काहुलेमा पहिलोपल्ट बिजुली बलेको हो । केन्द्रीय विद्युत् प्रसारण लाइनको भर नहुने र गाउँ–गाउँमा ढिला पुग्ने भएकाले विकट गाविसका सर्वसाधारण आफ्नै तथा दातृसंस्थाको लगानीमा विद्युत् उत्पादनमा जुटेका छन् ।