खोटाङ – खोटाङको सदरमुकाम दिक्तेलबाट सबैभन्दा नजिक रहेको नवनिर्मित मनमाया खानीडाँडा विमानस्थलको बीचभागबाटै पहिरो जान थालेको छ । वर्षायामको भलपानी कलभर्टबाट निकास जान छाडेर धावनमार्ग हुँदै बग्दा विमानस्थलको भलपानीको कटानका कारण गएको पहिरो र खाल्डोले बिमानस्थलको सेतो मार्किङलाईन छुन लागेको छ । अब पनि सम्बन्धित निकायले त्यहाँ ध्यान नदिने हो भने विमानस्थलको पहिरोको खतरा नजिक पुगेको भन्दै स्थानीयहरु भने त्रासित बन्न पुगेका छन् । बिमानस्थलको छेउबाट पहिरो जान थालेपनि अहिलेसम्म रोकथामका लागि कसैको ध्यान नगएको भन्दै स्थानीयहरु आक्रोशित पनि बन्न थालेका छन् । पुर्वी क्षेत्रबाट बग्ने खहरे खोला विमानस्थलको धावनमार्गतिर फर्किएपछि विमानस्थलमा पहिरोको खतरा बढेको हो । विमानस्थल टावर नजिकैको कलभर्ट माटोले थुनिएको छ भने विमानस्थलको माथिल्लो भागमा निर्माण गरिएको नाली पनि पहिरोले भत्किएपछि नालीबाट झर्ने भलपानी पनि धावनमार्गबाटै बगेको छ । पछिल्लो समय अनुगमन नगरिएको भन्दै यसबारेमा थाहा नभएको बिमानस्थल निर्माण उपभोक्ता समितिले टार्ने गरेको छ ।