खोटाङ, २० साउन । सात महिनाअघि दक्षिण कोरियामा भएको सवारी दुर्घटनामा ज्यान गुमाएका खोटाङ चिसापानी–४ का रमेश कोइरालाका परिवारले क्षतिपूर्ति पाएका छन् ।

दक्षिण कोरियामा भारी सवारीयन्त्र चलाउने क्रममा दुर्घटनामा ज्यान गुमाएका रमेशका परिवारले सात करोड ७४ लाख ६८ हजार ५६० कोरिया वन पाएका हुन् ।

दक्षिण कोरियाको ख्यङगीदो ह्वासाङमी नोजीन्रीस्थित खसङ प्लाष्टिक कम्पनीमा काम गर्नेक्रममा ज्यान गुमाएका रमेशका परिवारलाई कोरियाली मजदुर बीमा संस्था श्रम कल्याणकारी कोषले नेपाली रु ५५ लाख बराबरको क्षतिपूर्ति दिएको खोटाङ सेवा समाज कोरियाका सल्लाहकार उमेश बस्नेतले बताएका छन् ।

कोषले रमेशका बुबा भर
तमान कोइराला र आमा मेनुका कोइरालाले आधा–आधा पाउनेगरी हिमालयन बैंकको खातामा रकम जम्मा गरिदिएको छ । दुई वर्षअघिदेखि खसङ प्लाष्टिक कम्पनीमा कार्यरत कोइरालाको सन् २०११ डिसेम्बर १८ बेलुका आफैँले चलाएको गाडीले किचेर ज्यान गएको थियो ।

प्रवासी मजदुर सङ्गठन एमटियूको सहयोगमा मृतक कोइराला परिवारलाई क्षतिपूर्तिका लागि पहल अघि बढाइएको थियो ।

मृतक कोइरालाको शव फिर्ता पठाउन वैदेशिक कल्याणकारी कोषले खर्च गरेको पाँच हजार अमेरिकी डलर हालसम्म पनि नेपाली दूतावासले उपलब्ध नगराएको बस्नेतले बताएको रासस खबरमा उल्लेख छ ।