साउन २५ – साउदी अरबमा ज्यान गुमाएका खोटाङ सप्तेश्वरका जीवन राईको शव आर्थिक अभावमा दुई महिनादेखि घर ल्याउन सकिएको छैन ।

शव ल्याउनका लागि माग गरिएअनुसार मृतकका परिवारले पैसा पठाउन नसकेका कारण राईको शव ल्याउन नसकिएको मृतकका भतिज गोपाल राईले बताउनुभयो ।

साउदी सरकारले शव पठाउन नेपाली दूतावास, वैदेशिक रोजगार प्रवद्र्धन बोर्डमार्फत मृतकका परिवारसँग १० हजार रियल माग गरेको थियो । निम्न आर्थिकस्तर भएका राई परिवारले उक्त रकम पठाउन नसक्दा शव ल्याउन समस्या भएको सुरक्षित आप्रवासन परियोजना केन्द्र खोटाङका कार्यक्रम संयोजक भक्त राईले बताउनुभयो ।

गत जेठ १६ गते राति सुतेकै ठाउँमा बेहोस बनेका राईको उपचारका क्रममा साउदीको अस्पतालमा नै मृत्यु भएको थियो । आफ्नो कम्पनीबाट भागेर अर्कै ठाउँमा ‘इल्लिगल’ काम गर्नेक्रममा ज्यान गएका कारण राईको शव नेपाल फर्काउन समस्या भएको संयोजक राईको भनाइ छ ।

परिवारबाट पैसा पठाउन सक्ने स्थिति नदेखिएपछि वैदेशिक रोजगार प्रवद्र्धन बोर्ड आफँैले शव ल्याउन पहल सुरु गरेको सो केन्द्रले जनाएको छ ।

यता कमाइ गरेर पठाउने व्यक्तिको ज्यान गुमेपछि जीवनका ६ जनाको परिवारको विचल्ली भएको छ । अहिले उनका परिवारजन छिमेकीले चन्दा सङ्कलन गरेर दिएको चामल, नून, तेलबाट जीवन धानिरहेका छन् । मलेसियबाट फर्किएपछि साउदी पुगेका राईका हजुरआमा, आमा, श्रीमती र काखे बच्चासहित तीन छोरा छन् । रासस