खोटाङ, १४ भदौ । जिल्लाका ज्येष्ठ नागरिक, एकल महिला तथा अपाङ्गलाई सामाजिक सुरक्षा भत्ता नदिइएको विरोधमा नेकपा (एमाले) खोटाङले सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्रीलाई नगद रु पाँच सयका साथै चिनी, चिया, टोपी र पछ्यौरा पठाएको छ ।
सरकारले जिल्लाका ज्येष्ठ नागरिक, एकल महिला तथा अपाङ्गले पाउने सामाजिक सुरक्षावापतको भत्ता नदिएको भन्दै विरोधस्वरूप एमाले खोटाङले सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्रीलाई आज स्थानीय विकास अधिकारी युवराज अधिकारीमार्फत एक केजी चिनी, एक प्याकेट चिया, एक थान ढाका टोपी र एक थान पछ्यौरा पठाएको हो ।

जिल्लाका ७६ गाविसमध्ये ३२ गाविसका ज्येष्ठ नागरिक, एकल महिला तथा अपाङ्गले चिया खान र एकसरो लत्ताकपडा लगाउनबाट बञ्चित हुनुपरेको गुनासो गर्दै आएका छन् ।

जिल्लाका ज्येष्ठ नागरिक, एकल महिला तथा अपाङ्गसहित जिल्ला विकास समितिको कार्यालय पुगेका एमाले नेता तथा कार्याकर्ताले सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउन माग गर्दै एक घण्टा धर्ना समेत दिए ।

यसपटक जिल्लाका चार हजार ७३४ ज्येष्ठ नागरिक, एक हजार ९७६ एकल महिला, ९९ अपाङ्ग तथा एक हजार ५०३ दलित बालबालिकाले पाउनुपर्ने रु दुई करोड २३ लाख ७२ हजार २०० सामाजिक सुरक्षा भत्ता पनि पाएका छैनन् । रासस