भदौ २९ रासस खोटाङका समाजसेवी स्वर्गीय दिजेन्द्रप्रसाद जोशीको स्मृतिमा उहाँको परिवारले जिल्लाका कक्षा ११ र १२ का छात्रछात्राका लागि अक्षयकोष स्थापना गरिदिएको छ ।
स्वर्गीय जोशीका पिता अमृतप्रसाद जोशीले जिल्लाका सामुदायिक तथा निजी विद्यालयबाट कक्षा ११ र १२ को परीक्षामा सर्वोत्कृष्ट अङ्क ल्याउने एक÷एकजना छात्रछात्रालाई पुरस्कृत गर्ने उद्देश्यले अक्षयकोषको स्थापना गरिदिनुभएको हो ।

खोटाङ उद्योग वाणिज्य सङ्घको मातहतमा रहने गरी स्थापना गरिएको एक लाख रुपैयाँबराबरको अक्षयकोषबाट आएको ब्याजबाट उत्कृष्ट छात्रछात्रालाई पुरस्कृत गरिने नारायणप्रसाद जोशीले बताउनुभयो ।

सदरमुकाम दिक्तेलमा भर्खरै खुलेको सालपा विकास बैंकमा मुद्दति खाता खोली अक्षयकोषको रकम जम्मा गरिएको छ ।

विभिन्न सङ्घसंस्थामा रही सामाजिक कार्यमा अग्रसर जोशीको गत साउन ११ गते ३६ वर्षको उमेरमै असामयिक निधन भएको थियो ।

यसैबीच, नेपाली कांग्रेस खोटाङले भीरबाट लडेर गम्भीर घाइते भएका खोटाङका आमाछोरालाई उपचार खर्च उपलब्ध गराएको छ ।

राखामा भएको शिक्षण पद्धतिसम्बन्धी तालिम लिएर गत चैत २४ गते घर फर्कंदै गर्दा भीरबाट लडेर गम्भीर घाइते बनेका राखा–७ की मीना कोइराला कार्की र छोरा घनश्याम कार्कीलाई कांग्रेसले आर्थिक सहयोग गरेको हो ।

गम्भीर घाइते आमाछोरालाई उपचार खर्च अभाव भएपछि विभिन्न गाविसका कांग्रेसका नेता तथा कार्यकर्ताहरुबाट सङ्कलित २३ हजार १२० रुपैयाँ कांग्रेस पार्टी कार्यालय खोटाङमा आयोजित एक कार्यक्रमबीच कार्यालयसचिव राम घिमिरेले घाइते कार्कीका आफन्त नारायणकुमार कार्कीलाई हस्तान्तरण गर्नुभयो ।

राखा–१ देउरालीस्थित धनकन्या प्राविकी शिक्षिका मीनाको हाल बीएन्डबी र छोराको टिचिङ हस्पिटल काठमाडौँमा उपचार भइरहेको छ ।