खोटाङ, २९ असोज । महिला नेत्रीहरूले महिलामैत्री सेवा प्रदान गर्न जिल्ला प्रशासन कार्यालय(जिप्रका)को ध्यानाकर्षण गराएका छन् ।

नागरिकता, राहदानीलगायत सेवा लिन आएका महिलालाई सरल र सहज तरिकाले सेवा प्रदान गर्न माग गर्दै जिल्लाका महिला नेत्रीको टोलीले महिलामैत्री सेवा प्रदान गर्न प्रशासनको ध्यानाकर्षण गराएको हो ।

सानातिना सेवा लिनका लागि पनि जिल्लाका महिलाले दुःख पाएको भन्दै पूर्वसभासद् उषाकला राईको नेतृत्वमा गएका महिला नेत्रीले प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालको ध्यानाकर्षण गराएका हुन् । अखिल नेपाल महिला सङ्घमा आबद्ध महिला नेत्रीले प्रशासनको दैनिक कामकाज जनमुखी, उत्तरदायी र संवेदनशील बनेर प्रवाह गर्न प्रजिअलाई आग्रह गरे ।

यस्तै महिला नेत्रीको टोलीले महिलाका लागि छुट्ट्याइने बजेटलाई महिलाकै हितमा प्रयोग गर्न जिविसलाई आग्रह गरेका छन् । महिलाको नाममा छुट्ट्याइने बजेट अन्य शीर्षकमा खर्च गर्ने गरिएको गुनासो आएको भन्दै उनीहरूले महिलाको बजेट महिलाकै निम्ति उपयोग गर्नका लागि पहल गर्न आग्रह गरेका हुन् । अखिल नेपाल महिला सङ्घका केन्द्रीय सदस्य राईले जिल्ला तथा गाउँ परिषद्मा महिलालाई प्रत्यक्ष सहभागी गराउन स्थानीय विकास अधिकारी युवराज अधिकारीको ध्यानाकर्षण गराउनुभयो । रासस