खोटाङ म्ांसिर–८,  एक नम्बर प्रदेशको खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्री रामकुमार राई ‘पासाङ’ प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) पोलिटव्युरो सदस्यसमेत रहनुभएको राईले ३१ हजार ३ सय ५१ मत लिई निर्वाचित हुनुभएको हो ।

वाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार राईले एमाले पोलिटव्युरो सदस्य विशाल भट्टराईभन्दा २ हजार ६ सय ६९ मतले पराजित गनुभएको छ । एमाले पोलिटव्युरो सदस्य भट्टराईले २८ हजार ६ सय ८२ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

२०३८ मा नेकपा मालेको भातृ संगठनको विद्यार्थी आन्दोलनबाट राजनीतिक शुरु गर्नुभएको नवनिर्वाचित प्रतिनिधिसभा सदस्य राई लगातार तेस्रो पटक सांसद बन्नुभएको हो ।पासाङ पहिलो संविधानसभा २०६४ को निर्वाचनमा निर्वाचित भएर संसद् भवन प्रवेश गर्नुृभएको थियो । उहाँ २०७४ को प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा खोटाङ प्रदेश (ख)बाट प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।

२०४५ सालको पञ्चायतविरुद्ध आन्दोलनमा सरिक हुँदा दिक्तेलबाट पक्राउ पर्नुभएको राईलाई २३ दिन हिरासतमा राखेर चरम यातना दिइएको थियो । सशस्त्र जनयुद्धताका दर्जनौं पटकको भिडन्तमा पर्दा राई घाईंते हुनुभएको छ ।

निम्नमध्यम किसान परिवारमा जन्मनुभएका नवनिर्वाचित प्रतिनिधिसभा सदस्य रामकुमार राई ‘पासाङ’ साकेला गाउँपालिका–२ रतन्छा माझगाउ ँनिवासी हुनुहुन्छ । २०२५ वैशाख १४ गते जन्मनुभएको उहाँ २०४९ सालबाट भूमिगत राजनीतिमा क्रियाशील रहनुभयो ।

ा खम्बुवान राष्ट्रिय मुक्ती मोर्चामा २०४९ देखि २०५८ सालसम्म उहाँ रहँदैगर्दा २०६० सालबाट खम्बुवान माओवादीसँग एकीकरण भएपछि विभिन्न जिम्मेवारी सम्हाल्नुभयो ।

पार्टी भूमिगत हुँदा उहाँले खोटाङ, भोजपुर, संखुवासभा र उदयपुरको जिल्ला इन्चार्जसमेत सम्हाल्नुभएको थियो ।। ।