खोटाङ बैशाख–१०, एक नम्बर प्रदेशका मुख्यमन्त्री सेरधन राईले प्रदेशको राजधानी र नामाङकन सबैलाई चित्त बुझ्दो हुने गरी तोकिने बताउनुभएको छ । सोमबार खोटाङ सदरमुकाम दिक्तेलमा बोल्दै मुख्यमन्त्री राईले आश्चर्य चकित नहुने खालको प्रदेशको नाम र केन्द्र रहने बताउनुभएको हो । 
प्रेस चौतारी र प्रेस सेन्टर खोटाङले संयुक्त रुपमा आयोजना गरेको पत्रकार भेटघाटमा सके सम्म सर्बसहमतिकै आधारमा छिटै राजधानी र नामाङकनको बिषयलाई टुङ्ग्याउने मुख्यमन्त्री राईको भनाई छ । सहमति जुट्न नसके प्रदेशको दुई तिहाइ मतले चाँडै नै यसको टुङ्गो लगाउने उहाँले जनाउनुभयो ।
मुख्यमन्त्री राईले स्थिर सरकार बनेकाले अब कुनै अलमल नगरी  मुलुक समृद्धितिर बढेको उल्लेख गर्नुभयो । उहाँले प्रदेश सरकारले विभिन्न विषयलाई प्राथमिकतामा राखेर बजेट तथा कार्यक्रम तयार गरिरहेको स्पष्ट पार्नुभयो ।

मुख्यमन्त्री राईले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आवधिक योजना सार्वजनिकीकरण गर्ने क्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आवधिक योजना बनाएर दीगो विकासको लक्ष्य लिएको जनाउनुभयो । कार्यक्रममा प्रतिनिधिसभा सदस्य विशाल भट्टराई, स्थानीय विकास मन्त्रालयका सचिव दिनेश थपलिया लगायतले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आवधिक योजना निर्माण गर्ने मुलुककै पहिलो नगरपालिका बनेको भन्दै प्रशंसा गरेका छन् । 

जिल्ला समन्वय समितिको समीक्षालय हलमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि राई, सांसद भट्टराई, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिब दिनेश थपलिया, जिल्ला समन्वय समितिको प्रमुख बबी चाम्लिङ लगायतले आवधिक योजनाको किताब सार्बजानिक गर्नुभएको थियो ।