माघ–५, खोटाङको खार्मी गाबिसमा ३० वर्षपछि भीर महुरी फर्किएको छ । खार्मी–१ र जालपा–४ को बीचमा रहेको महभीरबाट २०३९ सालमा बसाइ सरेको भीर महुरी तीन दशकपछि फर्किएको हो ।
पुरानो बासस्थानमा फर्किएको भीरमहुरी अहिले छुट्टा–छुट्टै तीन वटा गोला बनाएर बसेको स्थानीय इमान राईले जानकारी दिनु भयो । गाउँलाई किटनाशक एबं रासायनिक मल निषेधित क्षेत्र घोषणा गरिएको, गाउँमा सामुदायीक बनको बृद्धि तथा जलबायु परिवर्तनमा आएको सुधारका कारण बसाइसरेको भीरमहुरी पुःन फर्किएको राईको भनाई छ । 
जाडो शुरु भएपछि बसाई सर्ने र गर्मी शुरु भएसँगै पूरानो स्थानमा फर्कने भीरमहुरीको बिषयमा अध्यायन गर्नकालागि एक समय जालपामा चिनिया नागरिक समेत आएका थिए । घरमहुरीसँग मिल्दोजिल्दो देखिने तर अरिंगालजत्रो आकार भएको भीरमहुरी उत्तरी गाबिस सुङ्देलको एउटै भीरमा १८ गोलासम्म रहेको स्थानीयबासीको भनाई छ । 
यसैबीच, खोटाङको जालपा गाबिसका स्थानिय बासिन्दाको पहलमा मौरी पालन व्यवसाय फस्टाएको छ । गाउँमा किटनाशक औषधि एबं रासायनिक मल निषेध गरेको र बनजंगलको बिकास भएका कारण गाउँमा मौरी पालन व्यवसाय फस्टाएको हो । हाल स्थानीय मधुश्री मौरी समुहमा आवद्ध पदाधिकारीहरुले ५४ घार महुरी पालन गरेको जनसेवा समाज नेपालका अध्यक्ष इमान  राईले बताउनु भयो । गाउँलाई रसायनरहित बनाउनकालागि २०५७ सालमा जालपालाई रासायनिक मल रहित गाउँ घोषणा गरिएको राईको भनाई छ ।