माघ–७, खोटाङ र ओखलढुंगाको सिमानामा रहेको दुधकोशीस्थित रँभुवाघाटबाट बालुवा ओसार्न प्रयोग गरिने ट्रक तथा ट्याक्टर आवतजावतमा रोक लगाइएको छ ।

ट्याक्टर व्यवसायी र लामीडाँडाका स्थानीय व्याक्तीहरुबीचको बिबाद समाधान गर्नकालागि जिल्ला बिकास समिति खोटाङको कार्यालयमा बसेको सर्वदलीय सर्वपक्षीय बैठकले आगामी बुधबार सम्मकालागि रँभुवाघाटबाट बालुवा ओसार पसार गर्न प्रयोग गरिने ट्रक तथा ट्याक्टर आवत जावतमा रोक लगाएको हो ।

जिल्लास्थित राजनैतिक दल, प्रशासन, जिल्ला बिकास समिति, ट्याक्टर व्यवसायी संघ र बालुवा बिक्री गर्ने समुहबीच छलफल गर्ने र अर्को निर्णय नभएसम्मका लागि बालुवा ओसारपसार गर्न रोक लगाउने सहमती भएको ट्याक्टर व्यवसायी संघ खोटाङका उपाध्यक्ष राम हिङमाङले जानकारी दिनुभयो ।

ट्याक्टर व्यवसायी संघले रभुँवाघाटबाट निकासी हुने बालुवाबाट हालसम्म संलकन भएको रकमको हिसावकिताव सार्वजनिक गर्नु पर्ने, बालुवा ओसार्न गएका ट्याक्टरबाट शुल्क उठाउन नहुने लगायतका माग अघि सारेपछि ट्याक्टर व्यवसायी र लामीडाँडाका केही स्थानीय व्यक्तीहरुबीचमा बिबाद बढेको हो । बालुवाबाट आएको आम्दानीको हिसाव किताब पनि नदेखाएको आरोप लगाउँदै ट्याक्टर व्यवसायीले बालुवा ओसार्न गएका आफ्नो ट्याक्टरहरुबाट शुल्क उठाउन नहुने अडान लिएका छन् ।

ट्याक्टर व्यवसायीले शुल्क नदिने भएपछि लामिडाडाँका सो समुहले गत पुस–२८ गते यता ट्याक्टरलाई बालुवा ओसार पसार गर्न नदिएको ट्याक्टर व्यावसायी संघका अध्यक्ष बिष्णुकुमार श्रेष्ठ ‘स्याण्डे’ले बताउनुभयो ।