खोटाङ, ३० कात्तिक । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनका प्रतिनिधिसभा सदस्यका उम्मेदवार रामकुमार राई पासाङलाई विजयी गराए मन्त्री बनाउने संकेत दिएका छन् ।

वाम लोकतान्त्रिक गठबन्धनले बुधबार खोटाङको दिक्तेलमा आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पासाङलाई विजयी गराए मन्त्री बन्ने सम्भावना रहेको बताएका हुन् ।

प्रचण्डले ४ मंसिरको निर्वाचन संविधान रक्षा गर्ने र संविधान च्यात्ने दुई गठबन्धनबीचको जनमत संग्रह भएको बताएका छन् । चुनावीसभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले संविधान, लोकतन्त्र र संघीयताको रक्षा गर्ने प्रवृत्ति तथा संविधान च्यात्न चाहने, उल्ट्याउन चाहने र राजतन्त्रतिर फर्काउन चाहने गठबन्धनको बीचमा जनमत संग्रहको रुपमा निर्वाचन हुन लागेको बताएका हुन् ।

अध्यक्ष दाहालले विकास र संमृद्धिको आकांक्षाप्रति प्रतिवद्ध हुँदै प्रतिगमनलाई सदाका लागि हराउनुपर्ने कार्यभार गठबन्धनको काँधमा रहेको उल्लेख गरे ।

उनले खोटाङको विकास र समृद्धिको लागि गठबन्धन र सरकारकोतर्फबाट पूर्ण सहयोग हुने प्रतिवद्धता जनाएका छन् ।