खोटाङ कात्तिक–२९,  १० स्थानीय तह रहेको खोटाङको नौ स्थानीय तहमा नमुना मतदानको सम्पनन भएको छ । जिल्ला र्बिाचन कार्यालयले मंगलबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलको माटिकोरे खेलमैदानमा नवौं नमुना मतदान गराएको थियो । मतदाता शिक्षा प्रभावकारी बनाउने र मत बदर हुनबाट जोगाउने योजना अन्तरगत निर्वाचन कार्यालयले गत कात्तिक २० गतेदेखिदेखि स्थानीय तहको केन्द्रमा पुगेर नमूना मतदान सञ्चालन गर्दैआएको छ ।

मतदातालाई सु–सूचित गर्ने, मतदाता शिक्षा विस्तार गर्ने, मतदानका क्रममा आइपर्ने समस्या तथा चुनौतीको उचित विधिबाट हल गर्ने अभ्यासका रुपमा नमुना मतदानको आयोजना गरिएको जिल्ला निर्वाचन अधिकारी राजेश गौतमले बताउनुभयो । बाँकी रहेको हलेसी तुवाचुङ नगरपालिकामा बिहिबार नै नमुना मतदान गरिने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

जिल्ला निर्वाचन कार्यालयले महिला स्वास्थ्य स्वयंसेविकामार्फत मतदाता शिक्षा सञ्चालन गरिरहेको जनाएको छ । तर नमुना मतदानका क्रममा देखिएको बदर मतको संख्याले मतदाता शिक्षाको आवश्यकता खड्किएको देखाएको छ ।

आसन्न निर्वाचनका लागि खोटाङमा १ सय ३६ मतदान स्थल, १ सय ९४ मतदान केन्द्र र दुई वटा अस्थायी मतदान केन्द्र तोकिएका छन् । यस निर्वाचनमा जिल्लाका एक लाख ४२ हजार ७ सय ९२ मतदाताले मताधिकार उपयोग गर्ने निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गराउन आवश्यक सुरक्षा व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी सुर्यप्रसाद सेढाईको भनाई छ ।।