खोटाङ २७ कात्तिक । लोकतान्त्रिक बाम गठबन्धन खोटाङका उम्मेदवारहरुले युवालाई आफ्नै गाउँठाउँमा रोजगारीको अवसर दिने प्रतिवद्धता व्यक्त गरेका छन्।

आगामी मङ्सिर–४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा चुनावी गठबन्धन गरेका नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) का साझा उम्मेदवारहरुले युवालाई विभिन्न विद्यामा तालिम दिएर आफ्नै गाउँठाउँमा रोजगारको अवसर दिलाउने प्रतिवद्धता व्यक्त गरेका हुन्।

विदेशमा रोजगार गरिरहेका युवाका परिवारलाई आवश्यक वित्तीय परामर्श प्रदान गर्ने, विदेशबाट फर्केका युवालाई आवश्यक तालिम, परामर्श तथा रोजगारको अवसर प्रदान गर्ने, माछापालन, बाख्रापालान, मौरी पालन, सु्ँगुर पालन आदिमा प्रोत्साहित गरी उनीहरूलाई स्वरोजगार बनाउने प्रतिवद्धतापत्रमा उल्लेख छ। बेरोजगार रहेका युवालाई आयआर्जन गरी आर्थिक रुपले सबल बनाउन युवा लगानी कोष खडा गरी उनीहरूलाई व्यवसायमा लगानी गर्न आर्थिक अनुदान वा सस्तो ब्याजदरमा ऋण उपलब्ध गराउने, जिल्लामा कम्तिमा एउटा औद्योगिक ग्राम सञ्चालन गरी युवालाई रोजगार बनाउने लगायतका बुँदाहरु प्रतिवद्धतापत्रमा समेटिएका छन्।

लोकतान्त्रिक बाम गठबन्धनबाट प्रतिनिधिसभा सदस्यमा नेकपा (माओवादी केन्द्र) का पोलिटब्यूरो सदस्य एवम् १ नं. प्रदेश सरकारका खानेपानी, सिचाइँ तथा उर्जामन्त्री रामकुमार राई ‘पासाङ’ तथा प्रदेशसभा (क)मा नेकपा ९एकीकृत समाजवादी) पार्टीका १ नं. प्रदेश समन्वय समिति संयोजक वीरबलकाजी राई र प्रदेशसभा ‘ख’मा काँग्रेस १ नं. प्रदेश समितिका महामन्त्री भूपेन्द्र राई उम्मेदवार रहनुभएको छ।

बाम–लोकतान्त्रिक गठबन्धनका तीनैजना उम्मेदवारहरु यतिबेला आ–आफ्नो पक्षमा माहोल बनाउन मतदाताको घरदैलो तथा चुनावीसभामा व्यस्त छन्।