माघ–८, “पहिचान सहितको संघीयता, संघीयता सहितको संविधान, संविधानसभाबाटै संविधान, एकीकृत नेकपा माओवादीको अभियान” भन्ने मूलनाराका साथ एकीकृत नेकपा माओवादी खोटाङको एकतापछिको प्रथम जिल्ला सम्मेलन उद्घाटन भएको छ । राष्ट्रिय महाधिबेशन आयोजक समिति सदस्य तथा किरात राज्य समितिका सेक्रेटरी हिमालको प्रमुख आतिथ्य तथा जिल्ला अधिबेशन आयोजक समितिका संयोजक समिता कार्की अस्मिताको सभापतित्वमा उद्घाटन भएको हो । 

सदरमुकाम दिक्तेलस्थित जिल्ला विकास समितिको समिक्षालय हलमा उद्घाटन भएको प्रथम जिल्ला सम्मेलनले सातौं केन्द्रीय महाधिबेशनमा प्रस्तुत हुने राजनीतिक प्रतिबेदनमाथि छलफगरी सुझाव पठाउने, महाधिबेशनमा प्रतिनिधित्व गर्ने ८ जना प्रतिनिधि तथा एक जना पयर्वेक्षक एवं राज्य अधिबेशनका लागि ३२ जना प्रतिनिधि तथा ६ जना पयर्वेक्षक छनौट गर्ने कार्यक्रम रहेको जिल्ला अधिबेशन आयोजक समितिका सदस्य प्रकाश चौलागाइँ विक्रमले जानकारी दिनुभयो ।

कार्यक्रममा एकीकृत नेकपा माओवादी खोटाङको जिल्ला अधिबेशन आयोजक समिति सदस्य तथा कार्यालय सचिव सुरेश राईले केन्द्रीय समितिद्धारा प्राप्त सर्कुलर तथा कार्यविधि प्रस्तुत गर्नुभएको छ ।

प्रथम जिल्ला सम्मेलनमा एकीकृत नेकपा माओवादीका भोजपुर जिल्ला संयोजक रामकुमार राई पासाङ, जिल्ला अधिबेशन आयोजक समिति सदस्य दुर्गाजयन्ती राई, सल्लाहकार समितिका सदस्यहरु, क्षेत्रीय समितिका पदाधिकारी, ७६ वटै गाविसका गाउँ पार्टी अध्यक्ष तथा सचिव, भातृ संघसंगठनका प्रमुख तथा प्रतिनिधि, सुभेच्छुकलगायतको सहभागिता रहेको छ ।