माघ–१०, खोटाङको महुरे–फोक्सिङ्टार सडक खण्डमा काम गर्ने श्रमिकहरुबाट रकम असुली गर्ने समूहलाई तत्काल कारबाही गर्न नेकपा एमाले खोटाङले माग गरेको छ । 
दिनभर मेहन गरेर आफ्ना बालबच्चा पाल्ने श्रमिकहरुले पाउने पारिश्रमिक अराजक समूहले असुल्नु दुःखद खबर भएको भन्दै त्यस्ता समूहलाई तत्काल कारबाही गर्र्न विज्ञप्तीकार्फत माग गरेको हो । 
एमाले खोटाङका उपसचिव रामप्रसाद दंगालले एक विज्ञप्ती जारी गर्दै श्रमिकहरुले पाउनुपर्ने रकम सम्बन्धित उपभोक्ता समितिमार्फत पाउने व्यवस्था मिलाइनुपर्ने, रकम दुरुपयोग गर्न खोज्ने समूहको पहिचानगरी कारबाही अगाडि बढाइनुपर्ने, सम्बन्धित उपभोक्ता भन्दा अन्यबाट काम लगाउने परिपाटीको अन्त्य गर्दै सम्बन्धित गाविसका उपभोक्ताहरुबाट मात्र काम गर्ने व्यवस्था मिलाइनुपर्ने, उपभोक्ता समितिले श्रमिकहरुले पाउने रकम बाँडफाँड गर्दा जिल्ला विकास समिति, डिआरएसपीको प्रतिनिधि तथा सुरक्षा निकायका प्रतिनिधिहरुको प्रत्यक्ष उपस्थिति रहनुपर्नेलगायतका मागहरु अघि सारेको छ । 
जिल्लाका केही अराजक समूहले गत माघ ४ गते बतासे गाबिसको भँडारेघाटमा काम गरिरहेका १२० जना कामदारहरुको ७ लाख १५ हजार रुपैयाँ पारिश्रमिक रकम आफ्नै हातबाट उठाएर लगेको सडक निर्माण उपभोक्ता समितिले जनाएको छ । 
दिक्तेलस्थित राष्ट्रिय वाणिज्य बैंकबाट रकम निकासा गरे लगत्तै भँडारेघाटसम्म पछ्याएको अराजक समुहले घेराबन्दीमा पारेर कामदारको रकम लिएको उपभोक्ता समितिका एक सदस्यले जानकारी दिएका छन् । उता, प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले भने, घटना सम्बन्धी अनुसन्धान भइरहेको बताउनुभएको छ । यसका लागि जिल्ला प्रहरी कार्यालय खोटाङलाई सत्यतथ्य बुझ्न निर्देशन दिएको उहाँको भनाइ छ ।