माघ–१९, समयमा योजना पूरा नगरेको भन्दै जिल्ला शिक्षा कार्यालय खोटाङले जिल्लाका १६४ बिद्यालयको खाता रोक्का गरेको छ । 
बिभिन्न आर्थिक वर्षमा जिम्मा लिएका बिद्यालयको भौतिक निर्माणका योजनाहरु पूरा नगरेको भन्दै जिल्ला शिक्षा कार्यालयले जिल्लाका १६४ बिद्यालयको खाता रोक्का गरेको हो । 
‘सबैकालागि शिक्षा’ र ‘बिद्यालय क्षेत्र सुधार’ कार्यक्रम अन्तरगत आर्थिक वर्ष २०६७÷०६८ र त्यस अघिका योजनाहरु पूरा नगरेको भन्दै ८१ वटा प्राबि, ३८ वटा निमाबि र ४५ वटा माबि तथा उच्च माबिको खाता रोक्का गरिएको जिल्ला शिक्षा कार्यालय खोटाङका प्राबिधिक शाखाका सव–ईन्जीनियर शिब राईले बताउनु भयो । उहाँका अनुशार बिद्यालयको भवन निर्माण तथा मर्मत, छात्रा शौचालय निर्माण लगायतका भौतिक योजनाहरु पूरा नगरेका बिद्यालयहरुको खाता रोक्का भएका छन् । 
बिद्यालयको खाता रोक्का भएपछि बिद्यालयका शिक्षक तथा कर्मचारीहरु गत कार्तिकदेखि फागुनसम्मको दोश्रो चौमासिक तलव खानबाट बञ्चित भएका छन् । जिल्लाका बिद्यालयहरुको नाममा रहेको कुल ११ करोड बेरुजु घटाउनकालागि खाता रोक्का गरिएको जिल्ला शिक्षा अधिकारी निर्मलकुमार घिमिरेले बताउनु भयो । प्रधानाध्यपकलाई योजना फस्र्यौट गर्ने कबुलियतनामा गराएर कतिपय बिद्यालयको खाता खुल्ला गर्न शुरु गरिएको घिमिरेले जानकारी दिनु भयो । 
योजना पूरा नगरेसम्म सम्बन्धित बिद्यालयको खाता फुकुवा नगरिने जिल्ला शिक्षा कार्यालयले जनाएको छ । जिल्ला शिक्षा कार्यालयले आगामी फागुन–१५ भित्र सम्पूर्ण योजना फस्र्यौट गर्न बिद्यालयलाई निर्देशन दिएको छ । समयमा योजना सम्पन्न नभएको तथा काम सम्पन्न भए पनि फस्र्यौट नगरेका प्रधानाध्यपकलाई बेरुजु घटाउनकालागि मानसिक दवाव श्रृजना गर्न बिद्यालयको खाता रोक्का गरिएको जिल्ला शिक्षा अधिकारी घिमिरेको भनाई छ । 
योजनाकालागि निकासा भएको बजेट दुरुपयोग हुनबाट जोगाउन र तत्काल योजना पूरा गर्न दवाव सिर्जना गर्नकालागि पनि खाता रोक्का गरिएको जिल्ला शिक्षा कार्यालयका प्राबिधिक शाखाका सव–ईन्जीनियर राईले बताउनु भयो ।