माघ–२०, सुरिलो स्वरमा गीत गुञ्जिरहेको छ । वरिपरी मान्छेहरुको बाक्लो भीड लागेको छ । बेञ्चमा लहरै बसेका तीन जना दृष्टिबिहिन किशोरहरु पालैपालो गीत गाइरहेका छन् । केटाकेटीदेखि बुढापाकासम्मको घुइँचो त्यही गुञ्जीरहेको स्वरमा मन्त्रमुग्ध छ । झट्ट सुन्दा र देख्दा कुनै एउटा साँस्कृतिक कार्यक्रमको झल्को दिने यो दृश्य खोटाङ सदरमुकाम दिक्तेलमा भएको हो । 

दिक्तेलको त्रिबेणीचोकमा देखिएको सो कार्यक्रममा पुर्वाञ्चल दृष्टिबिहिन साँस्कृतिक समुह, मेचीनगरका दृष्टिबिहिनहरुले आ–आफ्नो कला प्रस्तुत गरिरहेका थिए । 
पुर्वी नेपालको झापास्थित पुर्वाञ्चल दृष्टिबिहिन साँस्कृतिक समुह, मेचीनगर–१० काँकडभिट्टाको भवन निर्माणकालागि रकम जुटाउन जिल्ला–जिल्लामा पुगेर साँगीतिक अभियान थालिएको समुहका सदस्य सुनिता लिम्बूले बताउनु भयो । आफ्नो अभियानबारे बताउँदै रकमको टिपोट गरिरहकेकी लिम्बूले प्रतिभावान कलाकारहरुको कला र गलालाई पहिचान गर्दै प्रोत्साहित गर्न स्वयं दृष्टिबिहिनको सहभागीतामा रकम संकलन शुरु गरिएको जानकारी दिनु भयो । 
तीन दृष्टिबिहिन सहित झापाबाट तराई हुँदै उदयपुर, ओखलढुंगा र खोटाङ आइपुगेको पाँच सदस्यीय टोलीले आफ्नो उद्धेश्य प्रष्ट्याएपछि सकेको आर्थिक सहयोग गर्नेहरुको ओइरो लागेको थियो । टोलीले संगीतको माध्यामबाट रकम जुटाउन पुर्वका सबै जिल्लामा पुग्ने बताएको छ । 
काँधमा झोला, लत्ताकपडा तथा डेक, स्पीकर लगायतका बिद्युतीय सामग्री बोकेर कष्टकासाथ हिँडिरहेका दृष्टिबिहिनहरुको गीत र क्यारिकेचरले जिल्लाबासीको मनलाई लोभ्याएको थियो । अभियानलको सफलताको कामना गर्दै जिल्लाका समाजसेवी, बुद्धिजिबी, नेता, व्यवसायी, पत्रकार सबैले ५० देखि हजार रुपैयाँसम्म सहयोग गरेका छन् । साँस्कृतिक समुहका अनुशार आफ्नो भवन निर्माणार्थ रकम जुटाउनकालागि समुका दुई टोली नेपालको पश्चिमी जिल्लाहरुमा पनि पुगेका छन् ।