माघ–२१, जिल्ला अदालतले व्यवसायीमाथि कुटपिटमा संलग्न दुई अभियुक्तलाई बिना कारबाही छुट्कारा दिएको भन्दै खोटाङ उद्योग बाणिज्य संघले सदरमुकाम दिक्तेलमा मौन जुलुस निकालेको छ । 
महिना दिनअघि ऋण उठाउन गएकाबेला उल्टै कुटिएका दिक्तेल–२ का होटल व्यवसायी योगराज लुईटेललाई मरणासन्न हुनेगरी कुटपिट गर्ने बिजयखर्क–८ का बृखबहादुर खनाल र उनका छोरा गणेश खनाललाई जिल्ला अदालतले सहजै छुट्कारा दिएको भन्दै उद्योग बाणिज्य संघले बिरोध स्वरुप आईतबार सदरमुकाम दिक्तेलमा मौन जुलुस निकालेका हुन् । 
दिक्तेलस्थित बाणिज्य संघको कार्यालयबाट शुरु भएको व्यवसायीको मौन जुलुस दिक्तेलबजार परिक्रमा गर्दै त्रिबेणी चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभामार्फत खोटाङ उद्योग बाणिज्य संघका कार्यवाहक अध्यक्ष राजेन्द्र लयालुले माघ–२२ गतेदेखि २५ गतेसम्म कालो पट्टी बाँधेर बिरोध गर्ने, माघ–२६ र २७ गते जिल्लाको व्यपार व्यवसाय एवं यातायात सेवा ठप्प पार्ने लगायतका तीन बुँदे आन्दोलनका कार्यक्रम घोषणा गर्नुभएको छ । 
न्यायालयले नै अपराधिलाई सहजढंगले छुट्कारा दिएकोमा बिरोध स्वरुप विभिन्न चरणवद्ध आन्दोलनहरु घोषणा गरिएको बाणिज्य संघका पदाधिकारीहरुको भनाइ छ । बाणिज्य संघले आपाराधिक कृयाकलाप नियन्त्रण गर्न प्रशासन, प्रहरी र न्यायालय सजग रहनुपर्ने, अपराधीलाई दण्ड सजाय गर्नुपर्ने, सुरक्षाको प्रत्याभुती दिलाउनुपर्ने, दण्डहिनताको अन्त्य गरिनुपर्ने, अपराधीको मनोबल बढाउने खालका क्रियाकलापहरु नियन्त्रण गरिनुपर्ने लगायतका माग गरेका छन् । 
व्यवसायी लुइटेलमाथि कुटपिटमा संलग्न खनालद्धयलाई कारबाही गर्नुको सट्टा जिल्ला अदालतले गत माघ–१२ गते पाँच हजार धरौटीमा छाड्न निर्देशन दिएको भन्दै बाणिज्य संघ अदालत बिरुद्ध आन्दोलित भएका हुन् । अदालतको आदेशपछि व्यवसायी लुईटेलमाथि कुटपिटमा संलग्न दुबै जना रिहा भएका छन् । ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएकाले अदालतले खनालद्धयलाई धरौतीमा छुट दिन नमिल्ने उद्योग बाणिज्य संघका कार्यबाहक अध्यक्ष लयालुले दाबी गर्नुभयो । 
तीन वर्षअघि दिएको ऋण उठाउन गएका होटल व्यवसायी लुईटेललाई खनाल बाबुछोराले गत पुस–१४ गते निर्घात कुटपिट गरेका थिए । कुटपिटबाट टाउको र हात खुट्टामा गहिरो चोट लागेका लुईटेलको काठमाडौंस्थित न्यूरो अस्पतालमा उपचार गरिएको थियो । लुइँटेलको स्वास्थ्य अवस्था अझै पूर्णरुपमा सुधार नआएको उहाँका पारिवारको भनाइ छ । कुटपिटमा संलग्न वृखबहादुर खनालका अर्का छोरा राजन खनाल भने, हालसम्म फरार रहेका छन् । 
उद्योग बाणिज्य संघले व्यवसायी लुईटेल कुटिएको भोली पल्ट पुस–१५ गते पनि दोषीलाई कारबाहीको माग गर्दै दिक्तेल बजार बन्द गराएको थियो ।