खोटाङ, बैशाख–१५, खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले आयोजना गरेको निःशुल्क बृहत स्वास्थ्य शिबिरमा १८ सय ३८ सर्वसाधारणले उपचार सेवा पाएका छन् । गाउँपालिकाको दुई नम्बर वडा डाँडागाउँ ओख्रेमा बिहिबारदेखि शनिबारसम्म सञ्चालन भएको वरिष्ठ बिशेषज्ञ सहितको निःशुल्क बृहत स्वास्थ्य शिबिरमा स्त्री रोग, बाल रोग लगायतको उपचार सेवा प्रदान गरिएको हो । 
शिबिरमा हाडजोर्नी, नशा, नाक, कान, घाँटी, आँखा, दाँत र पेट सम्वन्धी रोगबाट पीडित सर्वसाधारणको निःशुल्क स्वास्थ्य जाँच, उपचार एबं औषधि वितरण गरिएको गाउँपालिकाले जनाएको छ । महेन्द्रोद्धय माबिको प्राङ्गणमा आयोजना गरिएको शिबिरमा स्त्री रोग भएका २ सय ९ जना महिलाले उपचार सेवा पाएका छन् ।
 यस्तै, बाल रोग सम्बन्धी ५ सय १५, सर्जरी सम्बन्धी ५ सय ९४, नाक, कान र घाँटीको समस्या भएका १ सय २० जना, आँखाका समस्या भएका १ सय २४, मुख तथा दाँतका समस्या भएका १ सय ९६ जना र जनरल फिजिसियन सम्बन्धी ८० जनाको उपचार गरिएको गाउँपालिका प्रमुख भूपेन्द्र राईले बताउनुभयो । शिबिर अवधिमा बिहानदेखि साँझसम्म शिबिरस्थलमा सेवाग्राहीको भीड लागेको थियो । 
स्वास्थ्य शिबिरकै अवशरमा जिल्ला प्रशासन कार्यालय, महिला तथा बालबालिका, मालपोत, नापी कार्यालयले पनि सेवा प्रवाह गरेको छ । 
शिबिरको उद्घाटन पूर्व स्वास्थ्य मन्त्री तथा प्रतिनिधि सभा सदस्य गगन थापा र प्रतिनिधि सभा सदस्य खोटाङकै बिशाल भट्टराईले गर्नुभएको थियो ।